एजेन्डा स्थापित गराउन बाध्यताले गीत लेखेँ : भूपाल राई

नेपाल लाइभ | २०७६ भदौ ७ शनिबार | Saturday, August 24, 2019 १९:३०:०० मा प्रकाशित

काठमाडौं- कवि तथा गीतकार भूपाल राईको नवीनतम कृति 'सेवान्ने जिन्दगी' गीत संग्रह सार्वजनिक भएको छ। राजधानीको मण्डला नाटकघरमा शनिबार आयोजित कार्यक्रममा लेखक/विश्लेषक उज्ज्वल प्रसाई, सिर्जनशील अराजकता अभियानका कवि हाङयुग अज्ञात र कैलाश राईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रसाईले अहिलेको समाजले भोगिरहेको परिवेशमा भूपाल राईका गीत झनै सान्दर्भिक भएको बताउँदै उनका गीतका केही पंक्ति पनि सुनाए। 

गैर-जनजातिमा गढेर बसेको मनोविज्ञानलाई विभिन्न आन्दोलनले नै सही बाटोमा ल्याउने कोसिस गरिरहेको उनको भनाइ थियो। 'मेरो मस्तिष्कमा नश्लीय चेतना होइन नश्लवाद नै हालेर हुर्काइयो। मेरो समाजले आफूभन्दा गैर-समुदाय वा फरक लिंगलाई खास दृष्टिले हेर्ने बनाइदियो,' उनले भने, 'मेरो त्यो अमानवीय चेतनालाई कसैले सही ठाउँमा ल्याउँदैछ भने जनजातीय आन्दोलन वा नारीवादी आन्दोलनले ल्याउँदैछ। त्यस्ता गतिविधिले घचघच्याएर नै मलाई राम्रो मान्छे बनाउँदैछ।' 

राष्ट्रवादले कहिलेकाहीँ अरुलाई हेप्न र आफूलाई अरुभन्दा श्रेष्ठ बनाउन सिकाउने उनको तर्क थियो। 'तर हामी फरक छौं तर बराबर छौं भन्ने चेतना सबैमा हुनुपर्छ,' उनले भने। 

अर्का वक्ता अज्ञातले भने प्रसाईको भनाइप्रति असहमति जनाउँदै राष्ट्रवादभन्दा पनि 'सुपेरियर फिलिङ'का कारण विभेद देखिएको चर्चा गरे। त्यो सुपेरियरलाई उनले हिन्दु दर्शनसँग जोडेका थिए। 'हिन्दु वर्णाश्रमका कारण त्यसखाले मनोविज्ञान जीवित छ। त्यसमा चार तह छन्, जसमा ब्राह्मणले आफूलाई सुपेरियर ठान्छ,' उनले भने, 'जनजातिहरुलाई पनि पञ्चायतकालमा त्यो वर्णाश्रमभित्र राख्ने कोसिस गरियो। तर किरात समुदाय यो वर्णाश्रममा पर्दैन। यसर्थ हामीमा त्यो विभेदको मनोविज्ञान हुँदै हुँदैन।'

उनले ५० को दशकबाट नै भूपाल राईका विचार सुनेर आफू र आफ्नो आन्दोलन दीक्षित भएको समेत बताए। 'उहाँ डिल्लीबजारमा बस्नुहुन्थ्यो। म बारम्बार त्यहाँ गइरहन्थेँ,' उनले भने, 'उहाँको विचारबाट म दीक्षित भएको हुँ। हाम्रो आन्दोलन दीक्षित भएको हो। यो कुरा मैले बोल्नैपर्ने थियो, आज अवसर जुर्‍यो।' 

भूपाल राई र सिर्जनशील अराजकता बेग्लै धारमा रहेको टिप्पणी हुने गरेकोमा पनि उनले प्रस्ट्याउन खोजे। कहिलेकाहीँ सत्तासँग नजिक हुनेहरुले विद्रोही शक्तिलाई अलगअलग राख्न बजारमा यसखाले भ्रम छर्ने गरेको भन्दै अज्ञातले थपे, 'भूपाल राई र हामी सिर्जनशील अराजकहरुमा यो कुरा लागू गर्न खोजिएको हो।'  

नेपाली गीत र कवितामा पहिचान र सांस्कृतिक चेतलाई नयाँ उचाइमा पुर्‍याउन भूपाल राई सक्रिय रुपमा लागिरहेको भन्दै उनले गुरुको रुपमा प्रशंसा गरे।

अर्की वक्ता कैलाश राई भूपाल राईकै गीतहरु सुनेर आफूमा सांस्कृतिक चेतना जागृत भएको धारणा राखिन्। 'उहाँका गीतमाथि डिस्कोर्सहरु भइरहेका छन्। त्यसले समाजमा आफ्नो योगदान दिइरहेकै छ,' उनले भनिन्, 'जातीय, सांस्कृतिक, ऐतिहासिक चेतनालाई सिर्जनामा लेख्ने भूपाल राईहरु आइरहनुपर्छ। र अबको पुस्ता पनि यसमा गम्भीर हुनैपर्छ।'

अरु गीत बाह्य समाजलाई आफूले आत्मसात गरेर लेखिएझैं लागे पनि राईका गीत आफूभित्रको समाज-संस्कृति अरुलाई सुनाउनका लागि लेखिएझैं लाग्ने उनले बताइन्।

लेखक राजन मुकारुङले  इतिहास लेख्नेहरुले आदिवासी, जनजाति वा किनारमा पारिएका समुदायलाई छुटाएर आफ्नो र आफू वरिपरिकाहरुले मात्रै लेख्ने गरेको विडम्बना सुनाए। कार्यक्रममा स्वागत मन्तव्यका लागि उपस्थित भएका उनले भने, 'जसले भिन्न  प्रवाहबाट नेपाली गीतसंगीत र संस्कृतिलाई सम्बोधन गरिरहेको छ, उनीहरुकै इतिहास छुटाइएको छ। त्यसो भएर नै हामीले आफ्नो इतिहास हामी आफैले लेख्नुपर्छ भन्दै आएका हौं।'

सर्जक भूपाल राईले आफूले बाध्यताले नै गीत लेख्नुपरेको सुनाए। तीसको दशकको मध्यदेखि कविता लेख्दै आए पनि चालीसको दशकको उत्तरार्द्धबाट आफू गीतमा पनि लागेको उनको भनाइ थियो।

'म जुन समुदायका लागि लेख्थेँ। कविता सम्प्रेषित हुँदैन थियो। त्यो समुदायले कविता बुझ्दैन थियो,' उनले भने, 'त्यसो हुँदा मैले आफ्नो हतियारको रुपमा कलम नै प्रयोग गरेँ र उनीहरुलाई बुझाउन बाध्यताले गीत लेखेँ।' यसरी नै आफूले एजेन्डामा रही गीत लेख्दै आएको उनले सुनाए।

समाजलाई तरंगित र आन्दोलित बनाइरहन पनि कवि, कलाकार, गीतकारहरुले गतिविधिहरु गरिरहनु जरुरी भएको उनको भनाइ थियो।