काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा रिम रानाभाट नियुक्त भएका छन्। यसअघि विभागको निर्देशकमा रहेका नवीन उप्रेतीलाई नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ।
तालिम र प्रशिक्षणको व्यवस्थापन गर्ने गराउने मुख्य जिम्मेवारी रहेको विभागमा ३० महिनापछि निर्देशक परिवर्तन गरिएको हो। जिम्न्यास्टिकका पूर्वच्याम्पियन उप्रेती २०७२ साउनमा विभागको निर्देशकमा नियुक्त भएका थिए।
नवनियुक्त निर्देशक रानाभाटले प्रशिक्षकको उचित व्यवस्थापन र स्तरोन्तती गर्ने पहिलो प्राथमिकता रहेको नेपाल लाइभलाई जानकारी दिए। उनले संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने र समायानुकुल रुपमा प्रशिक्षक थप्ने पनि प्रतिवद्धता जनाए।
२०४२ मा भलिबल प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका रानाभाटले यसअघि राष्ट्रिय टिम तयारीको संयोजक भएर काम गरेका थिए। रानाभाटसँग प्रशिक्षण विभागको उपनिर्देशक र खेलकुद विज्ञान प्रतिष्ठानको अनुसन्धान निर्देशक भएर काम गरेको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।