काठमाडौं- विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन टुको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा युएईको ए टिमसामु ३ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३३ रन बनायो। उपकप्तान ज्ञानेन्द्र मल्लको १ सय ५४ रनको उत्कृष्ट पारीसँगै नेपालले उच्च स्कोर बनाएको हो।
१ सय ४२ रन बनाउँदा पहिलो विकेटको रुपमा दिलीप नाथलाई ६४ रनमा गुमाएको नेपालका लागि आरिफ शेखले नटआउट ४१ रन बनाए। दिपेन्द्रसिंह ऐरी ३४, अनिलकुमार साह १४ रनमा पेविलियन फर्किए।
सोमबार भएको पहिलो अभ्यास खेलमा नेपालले २५ रनको जित निकालेको थियो।
माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुने ६ वटै टिमले तयारी अन्तिम चरणमा पुर्याएका छन्। डिभिजन–२ मा नेपाल, नामिबिया, यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाल माघ २१ गते युएईबाट नामिबिया प्रस्थान गर्नेछ। माघ २५ गतेदेखि सुरु हुने डिभिजन–२ मा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।