काठमाडौं- सत्तारुढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन्।
सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्यरुपमा लिन आग्रह गरेका हुन्।
विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान्-श्रीमतीको घरझगडाको रुपमा बुझ्न पनि आग्रह गरे। झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, 'नेताहरुबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो। योबाट अत्तिनु केही पनि पर्दैन। के घरमा श्रीमान्-श्रीमतीको झगडा भयो भने दिक्क मान्ने? यो त्यही प्रकारको घटना हो। के त्यस्तो बेला बिहे गर्नु नै बेकार रहेछ। छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु? यो जीवनको यथार्थ हो। पछाडि हट्नु हुँदैन। आएका समस्यालाई कसरी समाधान गर्ने? समस्या त आउछन्। नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ।'
नेता नेपालले पारिवारिक , राजनीतिकलगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे।
उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखैमा काँडा संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।