काठमाडौं - साफ यु १५ फुटबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराएको छ।
पहिलो खेलमा भारतसँग ५-० ले हारेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-० ले हराएको हो। भारतको कल्याणीमा भएको खेलमा नेपालका शशांक बोहोरा र अशिम राईले गोल गरेका हुन्।
पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफमा नै दुवै गोल भएको थियो। जितसँगै नेपालले तीन अंक जोडेको छ।
श्रीलंकाको दुई खेलमा तीन अंक भएको छ। पहिलो खेलमा भुटानलाई ३-२ गोल अन्तरले हराएको श्रीलंकाले २ खेलबाट ३ अंक नै जोडेको छ। नेपाल श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान गरी पाँच देशको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।
नेपालले अब भदौ १० गते साविक विजेता बंगलादेशसँग खेल्नेछ। त्यस्तै लिग राउन्डको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध १२ गते खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।