काठमाडौं- भारतको एक सरकारी विद्यालयमा दिवा खाजामा विद्यार्थीहरुलाई रोटी र नुनमात्र दिएपछि विवाद सुरु भएको छ।
भारतस्थित उत्तर प्रदेशको मिर्जापुर जिल्लाको एक सरकारी विद्यालयमा मध्य दिनको खाजामा विद्यार्थीहरुलाई यस्तो खाजा उपलब्ध गराइएको हो। विद्यार्थीहरुले नुन र रोटी खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा अहिले 'भाइरल' भएको छ।
भारतीय अनलाइन पत्रिका 'द वायर'का अनुसार कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा लगभग १ सय विद्यार्थी अध्ययन गर्छन्। भिडियोमा विद्यार्थीहरुले लाइनमा बसेर रोटी र नुन खाइरहेको देखिन्छ। एक छात्रका परिवारले सञ्चार माध्यमलाई यो एकदमै दुःखद अवस्था भएको बताए। ‘कैंयौँ पटक विद्यार्थीहरुलाई नुन र रोटी तथा चामल र नुनसमेत खान दिइएको थियो,’ ती अभिभावकले भने, ‘यहाँ कहिलेकाहीँ दुध आउने गर्दछ। तर, अधिकांश समयमा विद्यार्थीहरुलाई वितरण गरिँदैन।’
कहिल्यै पनि दूध वितरण गरिएको आफूहरुलाई जानकारी नभएको भन्दै उनले पछिल्लो वर्षदेखि यस्तै हुँदै आएको बताए।
मिर्जापुरका उच्च सरकारी अधिकारीले यो विषयमा अनुसन्धान गर्न लगाइएको र घटनामा सत्यता देखिएको बताए। प्रारम्भिक रुपमा हेर्दा यसमा त्यहाँका शिक्षक र ग्राम पञ्चायतका सुपरभाइजरको गल्ती भेटिएको उनको भनाइ छ। अहिले दुवैलाई निलम्बन गरेर छानबिन सुरु गरिएको उनले जानकारी दिए।
तर, उत्तर प्रदेश सरकारले विद्यार्थीहरुलाई मध्य दिनको खाजा खुवाउनका लागि १ लाख ५० हजार प्राथमिक विद्यालय छनोट गरि लागू गरिएको दाबी गरेको छ। २०१८ को तथ्यांकअनुसार यो अभियानबाट एक करोडभन्दा धेरै बालबालिकालाई लाभ दिनुपर्ने लक्ष्य सरकारको छ।
उत्तर प्रदेशले मध्यान्नको खाजा सरकारी अधिकारीको निगरानीमा पूरा राज्यभर वितरण गर्दै आएको छ। उसले आफ्नो बेवसाइटमा खाजाको सूचीसमेत राखेको छ। उक्त सूचीमा प्रत्येक दिन दाल, भात , रोटी र तरकारी दिइने उल्लेख छ। केही निश्चित दिनहरुमा दूध र फलफूलसमेत दिइने उल्लेख छ।
सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब जनताका छोराछोरी हुने र उनीहरुको घरमा खानाको मात्र नपुग्ने भन्दै सोहीअनुसार खाजाको सूची तयार गरिएको हुन्छ। केन्द्र सरकारका अनुसार मध्यान्न खाजामा प्रति बच्चाको न्यूनतम ४ सय ५० क्यालोरी शक्ति हुने गरी खाजाको प्रकार तयार गरिएको हुन्छ। प्रत्येक दिन १२ ग्राम प्रोटिन हुनेगरी यसको तयार गरिएको हुन्छ।
यो भिडियो भाइरल भएलगत्तै युपी सरकारका आधारभूत शिक्षा राज्यमन्त्री सतिश द्धिवेदीले आफूलाई पनि फेसबुकमा भिडियो हेरेर मात्र जानकारी भएको बताए। यस प्रकरणमा संलग्न सबैलाई निलम्बन गरिएको उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।