काठमाडौं - एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पाँचौँ भएको छ। प्रतियोगितामा समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएसँगै पाँचौँ भएको हो।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटमा हराएको हो। पहिलो सेट २५-२३ ले जितेको नेपालले दोस्रो सेट २३-२५ ले हारेको थियो। त्यसपछिका सेट २५-१८ र २६-२४ मा जित्दै नेपाल पाँचौँ भयो।
तीन वर्षअघिको सेन्ट्रल जोन भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक कांस्य जितेको नेपालले अहिले पाँचौँ प्रतियोगिता घरेलु कोर्टमा हुँदा त्यसअनुरुप सफल हुन भने सकेन।
यसअघि प्रतियोगिताको तयारीका लागि भएको दुई खेलमा पनि नेपालले अफगानिस्तानलाई हराएको थियो। प्रतियोगिताको समूह चरणमा भने नेपाल कीर्गिस्तान र माल्दिभ्ससँग ३-० को सोझो सेटमा हारेको थियो।
प्रतियोगिता अन्तर्गत फाइनल खेल शनिबार दुई बजे कीर्गिस्तान र उज्वेकिस्तानबीच हुँदैछ।
बिहीबार भएको सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई २५-२०, २५-१९ र २५-२१ को सोझो सेटमा हराएको थियो। यस्तै कीर्गिस्तानले तुर्कमेनिस्तानलाई पनि २५-१७, २५-१८ र २५-२२ को सोझो सेटमा हराएको थियो।
कीर्गिस्तान तेस्रो संस्करणको विजेता टिम हो भने उज्वेकिस्तानको जित पहिलो उपाधि हुनेछ।
यस्तै समूह चरणमा कीर्गिस्तान र माल्दिभ्ससँग पराजित भएको नेपाल पाँचौँ स्थानका लागि खेल्दैछ। नेपालको खेल आज दिउँसो ३ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।