काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले नेपालले काश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको बताएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले छिमेकी मुलुकहरुले आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने दाबी गरे।
उनले नेपालको राष्ट्रिय सहमतिका साथ काश्मीर विवादलाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। सांसद देवले भने, 'नजिकबाट नियाल्दै छौं हामी भनेर परराष्ट्र मन्त्रीज्यूले भन्नुभयो। यो नियाल्ने काम कहिलेसम्म हुन्छ। कहिलेसम्म नियालि राख्ने? आँट छ भने यो सरकारले बोलोस्। के बोल्छ बोलोस्, अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ।'
पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रयत्न गर्दैछ भन्ने सन्देश गएको उल्लेख गर्दे उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए। भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्नसक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे।
सांसद देवले नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए। १९५० को सन्धिका बारेमा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उनले असन्तुष्टि जनाए। उनले भने, 'ब्याक टू मंगलमान भयो। घुमिफिरी रुम्जाटार भयो।'
२०४८ सालमा नै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।