काठमाडौं - झण्डै ६ महिना अघि पाकिस्तान सुपर लिगमा मिस्बाह उल हक पेशेवर जाल्मीबाट खेलिरहेका थिए, जहाँ उनको क्रिकेट अझै रोकिन्छ जस्तो देखिएको थिएन।
२०१८ मा मिस्बाहले इस्लामाबाद युनाइटेडसगँको मेन्टरको सम्झौता त्यागेका थिए। त्यसको कारण थियो, उनी जाल्मीबाट ‘गोल्ड-क्याटेगरी’ खेलाडीका रुपमा मैदानमा नै खेल्दै थिए। अब अहिले भने उनी उही भूमिकामा देखिने अवस्थामा छैनन्।
पाकिस्तानका लागि लामो समय टेस्ट क्याप्टेनका रुपमा रहेका मिस्बाह के अब प्रशिक्षणतिर सोचिरहेका छन् ? उनी पाकिस्तान टिमको मुख्य प्रशिक्षक बन्ने बाटोमा छन् त?
मिकी आर्थर पाकिस्तान प्रशिक्षकबाट बिदा भएपछि पाकिस्तानी टिम कसले सम्हाल्ने भन्ने बहसहरु चलिरहेका छन्। पाकिस्तान क्रिकेटले नयाँ प्रशिक्षकका लागि मागेका आवेदनमा नाम सामेल नभए पनि मिस्बाहलाई नै नयाँ प्रशिक्षका लागि सोधिएका खबरहरु आइरहेका छन्।
‘म एउटा कुरामा विश्वस्त छु, अब मैले खेलाडीहरुलाई सहयोग गर्ने कुरामा अघि बढ्नु नै पर्छ’ प्रशिक्षकका लागि सोध्दा मिस्बाहले भनेका छन्, ‘वास्तवमा मैले खेलाडीहरुसँग काम गर्न थालेको एसएनजिपिएल (सुइ नर्थन ग्यास पाइपलाइन्स लिमिटेड) मा, इस्लामाबाद युनाइटेडमा र पेशेवर जाल्मीमा हुँदादेखि नै हो। त्यसैले प्रशिक्षणमा कसरी अघि बढ्नुपर्छ भन्ने मलाई थाहा छ।’
आफूलाई प्रशिक्षणबारे जानकारी भए पनि अहिले नै मुख्य प्रशिक्षकका लागि आवेदन हाल्न नजाने पनि उनको भनाई छ। आफ्नो बारेमा आइरहेका धारणाहरु अहिलेसम्म हल्ला मात्रै भएको उनले क्रिकइन्फोसँग बताएका छन्।
मुख्य प्रशिक्षमा नरहे पनि पाकिस्तान टिममा आवश्यक सहयोग र सरसल्लाह दिँदै खेलाडीहरुलाई एकजुट गर्न आफू तयार रहेको पनि उनले बताएका छन्। श्रीलंकासँगको दुई खेलको टेस्ट सिरिज अघि बस्ने २० दिनको प्रशिक्षण क्याम्प हेर्न पनि मिस्बाह राजी नै छन्। उनी खेलाडीहरुको छनोटमा समेत संलग्न रहेका छन्।
यसैले पछिल्लो समय मिस्बाहले पाकिस्तान क्रिकेट बोर्डसँग मिलेर गरिरहेका कामहरु र उनले पाएको जिम्मेवारीलाई हेर्दा उनको भूमिका बढ्ने नै देखिन्छ। उनी आफै पाकिस्तान क्रिकेट बोर्डको कमिटीमा रहेकाले मुख्य प्रशिक्षक हुँदा आइपर्न सक्ने अन्य प्रश्न भने महत्वपूर्ण छन्। आर्थरको समय थप नहुनु र कमिटीकै मान्छेलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिँदा बोर्डमाथि प्रश्न आउन सक्छन्।
पाकिस्तान क्रिकेट बोर्डले नयाँ प्रशिक्षकका लागि मागेको आवेदनमा प्रशिक्षक बन्नका लागि कम्तिमा लेभल टु प्रशिक्षकको अनुमति भएको हुनुपर्ने उल्लेख छ। जसमा तीन वर्ष इलाइट क्रिकेटरलाई प्रशिक्षण गरेको अनुभव हुनुपर्ने उल्लेख छ।
इसीबी लेभल टु प्रशिक्षक रहेका मिस्बाहले केही समय अघि मात्रै नेशनल क्रिकेट एकेडेमीबाट पिसिबी लेभल टु प्रशिक्षकको अनुमतिपत्र लिएका छन्। तीन वर्ष इलाइट क्रिकेटरलाई प्रशिक्षण गरेको अनुभव मिस्बाहसँग नभए पनि त्यो उनका लागि ठूलो बाधा हुने देखिएको छैन।
२००१ को मार्चमा न्युजिल्याण्डविरुद्धको खेलबाट टेस्टमा डेब्यू गरेका मिस्बाहले पाकिस्तानका लागि ७५ टेस्ट खेलेका मिस्बाहले ५ हजार २ सय २२ रन बनाएका छन्। यस्तै उनले १६२ एकदिवसीयमा ५ हजार १ सय २२ रन बनाएका छन्। ३९ अन्तर्राष्ट्रिय टी-२० खेलमा ७ सय ८८ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।