काठमाडौं - दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन गइरहेको साफ यु १८ च्याम्पियनसिपका लागि झण्डै १ करोड ८० लाख खर्च हुने एन्फाले जनाएको छ।
हल्चोक मैदानमा आउँदो असोज ३ देखि १२ गतेसम्म हुने प्रतियोगिताका लागि दर्शकका लागि तोकिएको दुई सय रुपैयाँको टिकटबाट आउने रकमसँगै अपुग रकम साफको अनुदानबाट जुटाउने एन्फाले जनाएको छ।
‘टिकट बिक्रीबाट १५/२० प्रतिशत रकम आउँछ कि भन्ने अनुमान गरेका छौँ बाँकी रकम त अनुदानबाट नै हो, त्यो यति नै हुन्छ भन्ने छैन, जे होस् अपुग रकम पूरा हुन्छ’ एन्फा प्रवक्ता किरण राईले नेपाल लाइभलाई बताए।
यु १८ साफको आयोजनाले फुटबल खेलाडीलाई मिल्ने उत्साहका साथै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न नेपाल सक्षम छ भन्ने सन्देश जाने एन्फा प्रवक्ता राईको भनाई छ। साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि यो प्रतियोगिताको आयोजनाले मद्धत पुग्ने एन्फाले विज्ञप्तीमार्फत जनाएको छ।
प्रतियोगिताको व्यवस्थापनका लागि एन्फाका उपाध्यक्ष वीर बहादुर खड्काको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेर काम भइरहेको छ। त्यसमा आवश्यक परे थप उपसमितिहरु पनि गठन गर्ने एन्फाले जनाएको छ।
यु १८ साफमा अन्तिम समयमा आएर पाकिस्तानले सहभागी नहुने जानकारी गराएपछि समूह ‘ए’ मा नेपाल, भुटान र माल्दिभ्स रहेका छन्। यस्तै समूह ‘बी’ मा बंगलादेश, भारत र श्रीलंका रहेका छन्।
नेपालले पहिलो खेलमा असोज ३ गते नै माल्दिभ्ससँग र दोस्रो खेलमा ५ गते भुटानसँग खेल्नेछ। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ।
प्रतियोगिताको लागि नेपाली टिमका प्रशिक्षक चेत नारायण श्रेष्ठले ३० जना खेलाडीलाई अभ्यास गराइरहेका छन्। जसबाट अन्तिम टोलीको टुंगो लाग्नेछ।
यस्तो छ खेल तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।