वेल्स - गत नोभेम्बरबाट रेलिगेसन जोनमा परेको स्वान्सी सिटी पहिलो पटक सो क्षेत्रबाट बहिर निस्किएको छ। अंक तालिकाको छैटौँ स्थानमा रहेको आर्सनलमाथि नाटकीय जित हात मार्दै सिटी इंग्लिस प्रिमियर लिगको रेलिगेसन जोनबाट बाहिर आएको हो।
गएराति आफ्नै घरेलु मैदान लिवर्टी स्टेडियममा आर्सनललाई ३–१ गोल अन्तरले हराउने क्रममा सिटीले घरेलु दर्शकको भरपुर साथ पाएको थियो।

मेसुट ओजिलले निकालेको सुन्दर पासलाई ३३ मिनेटमा नाको मोनरियलले गोलको दिशा दिदैँ आर्सनललाई सुरुवाती अग्रता दिलाए। तर गोल भएको १ मिनेट पनि बित्न नपाउँदै सिटीका साम क्लुकसले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
आर्सनल गोल किपर पेटर चेकले गरेको गम्भिर गल्तिको फाइदा उठाउँदै ६१ मिनेटमा अनमार्क खेलाडि जोर्डन एयुले गोल गर्दै टोलिलाई अग्रता दिलाए। खेल सकिन ४ मिनेट मात्रै बाँकि रहँदा सिटीका क्लुकसले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे।

खेल अवधिभर ७४ प्रतिशत समय आफ्नो पक्षमा बल पारे पनि आर्सनल गोल गर्न भने असफल रह्यो।
स्वान्सी सिटीले जारी लिगमा पहिलो पटक लगातार दोस्रो जित हात पारेको हो। यसअघि सिटीले गत जनवरी २२ मा लिभरपुलमाथि १–० को नतिजा निकालेको थियो।
आर्सेन वेन्गरको आर्सनलले भने घरबाहिर खेलेका १३ खेलमध्ये ३ खेलमा मात्रै विजयी भएको छ।

यसैगरि गएराति नै भएका अन्य खेलहरुमा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित गर्दा वेस्टह्याम युनाइटेड र क्रिस्टल प्यालेसले भने १–१ गोलको बराबरी खेलेका छन्।
इंग्लिस प्रिमियर लिगअन्तर्गत नै आज ७ खेलहरु हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।