काठमाडौं - आउँदो वर्ष जापानको टोकियोमा हुने ओलम्पिकमा कुनै पनि राजनीतिक विरोधमा सामेल भएमा त्यसको ‘परिणाम’ भोग्नुपर्ने भन्दै अमेरिकाले आफ्ना खेलाडीलाई चेतावनी दिएको छ।
पेरुको लिमामा भएको पान अमेरिकन खेलकुदका बेला दुई खेलाडीले सामाजिक अन्यायको विरुद्धमा विरोध प्रदर्शन गरेपछि अमेरिकाको यस्तो चेतावनी आएको हो। उनीहरुले खेल जितेपछि मेडल लगाउने स्थानमा नै विरोध प्रदर्शन गरेका थिए। अमेरिकामा भइरहेका हरेक अन्यायविरुद्ध आफूहरुको विरोध रहेको खेलाडीको भनाई छ।
युएस ओलम्पिक एण्ड पाराओलम्पिक कमिटी (युएसओपिसी) का अनुसार उनीहरुलाई १२ महिना खेलबाट बाहिर निगरानिमा राख्ने निर्णयसमेत भएको छ। जसमा फेन्सर खेलाडी रेस इम्बोडेन र ह्यामर थ्रोकी खेलाडी जोइन बेरी रहेका छन्।
मेडल लगाउने बेला राष्ट्रिय गान बजिरहँदा इम्बोडेन घुँडा टेकेर बसेका थिए भने बेरीले हात मुठ्ठी पारेर माथि उठाएकी थिइन्। जसमा युएसओपिसीका प्रमुख कार्यकारी हिर्सल्याण्डले खेलाडीको व्यक्तिगत विचारको सम्मान गर्ने भए पनि उनीहरुले विरोध गरेको स्थान र शैलीको भने कडा आलोचना गरेकी छिन्।
ओलम्पिकका बेला टोकियोमा यस्तै खाले विरोध प्रदर्शन नहोस् भन्नेमा आफूहरु सचेत रहेको उनको भनाई छ।

विरोध प्रदर्शन गरेका खेलाडी इम्बोडेनले ट्वीट गर्दै भनेका छन्, ‘हामी परिवर्तनका लागि लाग्नै पर्ने हुन्छ। पान खेलकुदमा अमेरिकाका प्रतिनिधित्व गर्न पाउँदा म खुसी छु। त्यसमा पनि एउटा स्वर्ण र एउटा कांस्य पदक जितेँ। तर पनि मेरो देशमा आप्रवासीहरुका लागि राम्रो व्यवहार अझै छैन, रंगभेदी व्यवहारहरु छन्, बन्दुक आतंक छ। यसैले यस्ता मुद्दामा सबैको ध्यान जाओस् भनेर मैले पदक लगाउने बेला विरोध गरेको हुँ।’

बेरीले पनि देशमा हुनुपर्ने जस्तो परिवर्तन नभएको र आफूले धेरै कष्ट सहनुपरेकोले विरोध गरेको बताएकी छिन्। ‘मैले कुनै राजनीतिक युद्ध सुरु गर्न खोजेकी होइन, मलाई सबै कुरा थाहा छ जस्तो गरेकी पनि छैन तर मलाई यत्ति चाहीँ थाहा छ अमेरिकाले जे गरिरहेको छ त्योभन्दा धेरै राम्रो गर्नुपर्छ र गर्न सक्छ पनि। यदि कोहीले केही बोलेन भने केही हुनेवाला छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।