काठमाडौं– नेपालका पहिलो रोजाइका गोलकिपर किरण कुमार लिम्बु आवद्ध आई–लिग क्लब पञ्जाव मिर्नेभा बराबरीमा रोकिएको छ। पञ्जावलाई मंगलबार भएको खेलमा इस्ट बंगालले २–२ गोलको बराबरीमा रोकेको हो।
खेलमा पञ्जावले २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमै चित्त बुझाउनु परेको हो। सुकदेव सिंहले २० मिनेट र चेन्चोले ३३ मिनेटमा गोल गरेर पञ्जावलाई पहिलो हाफमा २ गोल अग्रता दिलाएका थिए।
तर ५९ मिनेटमा जोबी जस्टिन र ८९ मिनेटमा ब्रान्डलले गोल गरेपछि बंगालले खेल २–२ को बराबरी गर्न सफल भयो।
खेलमा किरण म्यान अफ दि म्याच घोषित भए। उनले ५६ र ८२ मिनेट बंगलका खेलाडीको प्रहारलाई विफल पारेका थिए।
पञ्जाव आई–लिगको शीर्ष स्थानमा यथावत छ। पञ्जावले ११ खेलबाट २६ अंक तथा दोस्रो स्थानको नेरोकाले १२ खेलबाट २१ अंक जोडेको छ। तेस्रो स्थानको इस्ट बंगालको १२ खेलबाट २० अंक छ। नेपालका फरवार्ड विमल घर्तीमगर आवद्ध चौथो स्थानको मोहन बगानको ११ खेलबाट १७ अंक छ।
यसअघि किरणले गत शनिबार आई–लिगमा डेब्यु गरेका थिए। उनले डेब्यु गरेको पञ्जावले नेरोकालाई १–० ले हराएको थियो।
गत मंगलबार पञ्जावमा आवद्ध हुँदै किरणले व्यावसायिक करिअरमा फड्को मारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।