सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३ महिनाभित्रै निर्माण कार्य थालनी गर्ने गरी योजना कार्यन्वयन प्रक्रिया अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएपश्चात् पहिलो पटक बुधबार मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहीले बिहीबारदेखि नै बजेट कार्यान्वयनको तयारी सुरु गर्न निर्देशन दिँदै ‘पहिलो महिना भित्र सर्भे, डिजाइन, स्टिमेटको काम पूरा गर्ने, दोस्रो महिना सार्वजनिक खरिद तथा टेन्डरको कार्य पूरा गर्ने र तेस्रो महिनादेखि निर्माण कार्यको काम अगाडि बढाउने गरी काम थालनी गर्न’ निर्देशन दिए।
मुख्यमन्त्री शाहीले योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौं बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया सुरु नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
भौतिक पूर्वाधार विकास मन्त्रालयको गत वर्षको प्रगति निराशाजनक रहेको भन्दै मुख्यमन्त्री शाहीले जनतालाई संघीय व्यवस्थाको फाइदा अनुभूत हुने गरी मन्त्रालयले कार्यसम्पादन गर्नुपर्ने निर्देशन दिए।
पहिलो पटक भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीलाई प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मन्त्रालयका सचिव दानरत्न शाक्य तथा मन्त्रालयका कर्मचारीहरुले अविर मालाले स्वागत गरेका थिए।
नक्कली बैंक ग्यारेन्टीपत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि गएको साता मुख्यमन्त्री शाहीले साबिकका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई बर्खास्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैले लिने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।