काठमाडौं - एसिसी यु १९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीको टुंगो लागेको छ। रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो।
श्रीलंकामा भदौ १९ देखि २८ सम्म आयोजना हुने यु १९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंका, बंगलादेश र युएई रहेको समूह ‘बी’ मा परेको छ। प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
छानिएको अन्तिम टोलीमा आसिफ शेख र सन्दीप जोरा साथै सूर्य तामाङ पनि परेका छन्। यसअघि इस्टर्न रिजन प्रतियोगिता जित्दा उनीहरुको स्थानमा नयाँ खेलाडीलाई मौका दिइएको थियो। इस्टर्न रिजनमा खेलेका विशालबिक्रम केसी र तिलक भण्डारी टिममा छैनन्।
नेपाल गएको महिना मलेसियामा भएको एसिसी यु–१९ इस्टन रिजनमा हङकङलाई हराउँदै उपाधि जितेर एसिया कपका लागि छनोट भएको थियो।
यु १९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल भदौ २० गते श्रीलंकासँग खेल्नेछ। दोस्रो खेल भदौ २२ गते बंगलादेश र तेस्रो खेलमा भदौ २४ गते यूएईसँग खेल्नेछ।
प्रतियोगितामा राउन्ड रोविन लिगपछि दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। गएको संस्करणमा भारतलाई समेत हराएको नेपाल सेमिफाइनसम्म पुगेकाले पनि योपटकको आश बढेको छ।
नेपाली टिम आउँदो शनिबार नै श्रीलंका प्रस्थान गर्नेछ। जहाँ नेपालले केही अभ्यास खेलहरु पनि खेल्नेछ।
को को छन् टिममा ?
रोहित कुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, रहि बहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेश बहादुर बम र प्रतिश जिसी।
टिमको म्यानेजरमा राजु खड्का, मुख्य प्रशिक्षक बिनोद दास, ब्याटिङ कन्स्लट्यान्ट अपूर्व देसाई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।