भीमदत्तनगर– विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।
प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिनुभयो ।
गत आइतबार स्थानीय महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द विद्यालयबाट बेपत्ता भएका थिए । प्रहरीले उनको शव बुधबार राति हल्दुखाल नजिकैको खोलामा भेटाएको थियो।
चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले चन्दको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हत्यामा संलग्न अधिकारीको घरमा आज स्थानीयवासीले तोडफोड गरेका छन् । उनीहरुले अधिकारीको गोठमा आगजनीसमेत गरेका छन्।
अहिले हल्दुखाल क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
चन्दको कानमा लगाएका सुनको मुन्द्राको लोभमा अधिकारीले उनको हत्या गरेको खुलेको छ । चन्दका सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक चन्दले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।