काठमाडौं- सत्तारुढ दलका संसदहरुले नेपाल-भारतबीच भएको जलस्रोत सम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल-भारतबीच भएको कोसी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताए।
सांसद प्याकुरेलले कोसी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपूर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर, सुनसरी र सप्तरीका जनता पीडित बनेको बताए। आजबाट सुरु हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस विषयमा भारतीय पक्षसँग वार्ता गर्न पनि उनले माग गरे।
यस्तै बैठकमा विशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल-भारतबीच प्राकृतिक स्रोत बाँडफाँट सम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन्। दुई देशबीच हुने सम्झौता विन-विनको आधारमा हुनुपर्ने भन्दै स्रोत, तटबन्ध सडक जस्ता विषयमा भारतीय पक्ष सँग छलफल गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।