काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको समूह ‘ए’ बाट दुवै खेल जित्दै कीर्गिस्तान सेमिफाइनलमा पुगेसँगै नेपाल र माल्दिभ्सबीचको खेल निर्णायक बन्ने भएको छ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा बुधबार बेलुका पाँच बजे हुने नेपाल र माल्दिभ्सबीचको विजेता टिम सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबावमा परेका हुन्।
कीर्गिस्तानसँग हारेको माल्दिभ्सले नेपाल आउनुअघि श्रीलंकासँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा तीनै खेलमा माल्दिभ्स पराजित भए पनि त्यो खेलले टिमको अनुभव भने बढेको छ।
यसका साथै माल्दिभ्स टिमले भर्खरै इन्डियन ओसियन आइसल्याण्ड गेम्स खेल्नुका साथै सर्बियामा गएर पनि अभ्यास गरेको थियो।
यस्तै नेपालले प्रतियोगिता सुरु हुनुअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा दुवै खेल नेपालले जिते पनि त्यही खेलको निरन्तरता कीर्गिस्तानविरुद्धको खेलमा भने हुन सकेको थिएन।
नेपाल कीर्गिस्तानसँग २५-२३, २५-२२ र २५-२२ को सोझो सेटमा साथै माल्दिभ्स २५-१५, २६-२४ र २५-१९ को सेटमा पराजित भएको थियो। योसँगै ६ अंक जोडेर सेमिफाइनल पुगेको बलियो टोली कीर्गिस्तानविरुद्ध दुवै टिमको खेल सामान्य मात्रै देखिएकाले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धात्मक खेल हुने देखिएको छ।
पहिलो खेलमा लगनखेलको कबर्डहलमा खचाखच भरिएका घरेलु दर्शकसामु नेपाली टिमले सुधारिएको खेल देखाउन सकेको थिएन। माल्दिभ्सविरुद्ध पनि घरेलु दर्शक उसैगरी उपस्थित हुँदा नेपाली टिमलाई हौसलासँगै दबाव हुनेछ । पहिलो पटक घरेलु कोर्टमा भएको ठूलो प्रतियोगितामा सेमिफाइनल पुग्न नसके नेपाली टोलीका लागि कमजोर विषय बन्नेछ।
नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित समूह ‘ए’ मा माल्दिभ्स र कीर्गिस्तान साथै समूह ‘बी’ मा साविक विजेता तुर्कमेनिस्तानसँगै अफगानिस्तान, बंगलादेश र उज्वेकिस्तान रहेका छन्।
नेपाल र माल्दिभ्सको खेलसँगै बुधबार अरु दुई खेल पनि हुनेछन्। जसमा दिउँसो ३ बजे समूह ‘बी’ का उज्वेकिस्तान र अफगानिस्तानबीच खेल हुनेछ। यस्तै बेलुका ७ बजे तुर्कमेनिस्तान र बंगलादेशबीच खेल हुनेछ। समूह ‘बी’ मा उज्वेकिस्तानको ६ अंक, तुर्कमेनिस्तानको ३ र अफगानिस्तानको २ अंक र बंगलादेशको १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।