क्राइस्टचर्च- १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटको सेमिफाइनलमा चिरपरिचित प्रतद्वन्द्वी पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ। यो हार १९ वर्ष मुनिको आइसिसी विश्वकप क्रिकेटको इतिहासमा पाकिस्तानको सबैभन्दा फराकिलो रनअन्तरको हार हो।
भारतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान ६९ रनमा नै सीमित हुन पुग्यो। भारतीय बलरका सामु पाकिस्तानका ब्याट्सम्यान निरीह साबित भए।
न्युजिल्याण्डको क्राइस्टचर्चस्थित ह्याग्ली ओभल मैदानमा पहिले टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गाुमाउँदै २ सय ७२ रनको गोगफल तयार पारेको हो।
खेलमा निकै राम्रो सुरुवात गरेको भारतका लागि प्रारम्भिक ब्याट्ससम्यानद्वय पृथ्वी शाह र मन्जोट काल्राले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। कप्तान समेत रहेका शाहले ४१ तथा काल्राले ४७ रन बनाएर आउट भए।

तेस्रो नम्बरमा मैदान छिरेका सुब्मन गीलले शतकीय पारी खेल्दै टोलीलाई बलियो योगफलतर्फ केन्द्रित गराए। अन्तिमसम्म मैदानमा डटेका गीलले मात्र ९४ बलमा १ सय २ रन बनाए। जारी प्रतियोगितामा यो नै भारतीय ब्याट्सम्यानले हानेको पहिलो शतक हो।
यसका अलावा अनुकूल रोएले ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
उता पाकिस्तानका तर्फबाट मुहम्मद मुसा र अर्साद इकबालले सटिक बलिङ गर्दै भारतको मध्यक्रमका ब्याट्सम्यानलाई मैदानमा टिक्न दिएका थिएनन्। खेलमा मुसाले ४ तथा इकबालले ३ विकेट हात पारे। साहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो।
२ सय ७३ रनको विजयी लक्षका साथ ब्याटिङ गरिरहेको पाकिस्तानले खराब सुरुवात गर्यो। १० रनको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान मोहम्मद जाइद अलमलाई गुमाएको पाकिस्तानका तर्फबाट टोलिको स्कोर ४५ रन पुग्दासम्म ७ ब्याट्सम्यान पेबेलियन फर्किसकेका छन्।

मध्यक्रममा ब्याट्सम्यान एक पछि अर्को गर्दै खराब सट हानेर आउट भएपछि पाकिस्तान मात्र ६९ रनमा सीमित हुन पुगेको हो। उसका लागि रोहेल नाजिरले सर्वाधिक १८ रन बनाए। साद खान र मुहम्मद मुसाले क्रमशः १५ र ११ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका छन्।
पाकिस्तानको इनिङलाई ध्वस्त पार्न भारतका दायाँ हाते बलर इशान पोरेलले ४ खेलाडीलाई आउट गरे। यस्तै रियान पराग र शिव सिंहले समान २/२ तथा अनुकुल रोय र अभिषेक शर्माले १/१ विकेट चट्काए।
जितसँगै भारतले अष्ट्रेलियासँगको उपाधि भिडन्त पक्का गरेको छ। यी दुवै टोलीले हालसमम समान ३/३ पटक प्रतियोगिताको ट्रफी उचालिसकेका छन्। फाइनल खेल शनिबार माउन्ट मन्गानुइमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।