काठमाडौं- संघीय संसद् र प्रदेश संसद्का उपसभामुखबीच विद्युतीय रुपमा संवाद थालनी भएको छ।
मंगलबार संसद् सचिवालयमा प्रतिनिधिसभाकी उपसभामुख डा शिव माया तुम्बाहाम्फे र राष्ट्रितासभाकी उपाध्यक्ष शशिकला दाहालले ७ प्रदेशका उपसभामुखसँग भिडियो कन्फ्रेसिङ गरी अनुभव साटासाट गरेका हुन्।
नेपालको संविधानमा संघीय संसद् र प्रदेश संसद् प्रशासनिक र सञ्चालनको हिसाबले स्वतन्त्र र स्वायत्त छन्। हाम्रो संसदीय अभ्यासमा प्रतिनिधिसभा, राष्ट्रियसभाको अभ्यास र अनुभव भए पनि प्रदेश संसद् सञ्चालनको अनुभव छैन। औपचारिक रुपमा अन्तर सम्बन्ध नभए पनि उपसभामुख र उपाध्यक्षले प्रदेश संसद्का उपसभामुखसँग निरन्तर संवाद गर्दै आएका छन्।
प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले भौगोलिक रुपमा दूरी र समय अभावका कारण निरन्तर संवाद हुन नसकेको अवस्थामा भिडियो कन्फ्रेसिङले संवाद सहज बनाउने विश्वास व्यक्त गरिन्।
संघीय संसद् सचिवालयले केन्द्र र प्रदेश तहका संसद्बीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ भदौ ३ गते पहिलोपटक काठमाडौंमा उपाध्यक्षहरुको भेला गरेको थियो। त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो।
यस प्रकारको संवादले प्रदेशसभा सञ्चालनमा संघीय संसद्को अनुभवले सहयोग पुग्ने प्रदेशसभाका उपसभामुखहरुले विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।