काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुट र उपगुटमा विभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने बताएका छन्।
नेपाली कांग्रेस,तरुण विभाग मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको 'तरुण युवासँग कांग्रेस' विषयक कार्यक्रममा संबोधन गर्ने क्रममा नेता डा कोइरालाले सरकारकै कारण संघीयता गुम्ने खतरा बढेको समेत बताए।
वैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य व्यक्तिलाई पार्टीमा उचित स्थान दिन नसकिएको कोइरालाले स्वीकार गरेका छन्।
आफूलाई पदको कुनै लोभ नभएको बताउॅदै डा कोइरालाले काग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउन अब कुनै कसर बाँकी नराख्ने समेत बताए।
'गाउॅ र दुर-दराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागि जीवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु। यो तरिकाले पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेको छु। अब पनि हामी जिम्मेवार नभए कहिले हुने?' डा शेखरको प्रश्न थियो।
'कुनै बेला बिपी, सुवर्णशमसेर, गणेशमान र किशुनजीका बिचमा चरम वैचारिक मत भिन्नता थियो। उहाँहरु आ-आफ्नो विचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै ती मतभिन्नता कार्यकर्ता सामु आएन,' डा कोइरालाले भने, 'अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होईन कार्यकर्ताको मानसिकता पनी विभाजित छ।'
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला,मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, प्रदेशसभा सदस्य केदार कार्कीलगायतले मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।