काठमाडौं– सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी गराए। उनले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले चाँडै ल्याउन लागिएको बताए।
बैठकमा समिति सदस्य रामेश्वर फुयाँलले कर्मचारी समायोजनपछि मात्र प्रदेश र स्थानीय तहको सरकार बन्ने भएकाले सबै काम सकेर पेश गरिने बताए।
बैठकमा समिति सदस्य रेखा शर्माले समायोजन ऐन ल्याएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी ल्याउनका लागि विधेयक बनाउन मद्दत मिल्ने बताए।
समितिले सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, सचिव मोहन सापकोटासँग आवश्यक परामर्श गरी विधेयकमा रहेका कुरा टुङ्ग्याउनेसमेत निर्णय गरेको छ।
नयाँ संघीय संरचनाअनुसार सरकारले निजामती कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भएको छ।
सामान्य प्रशासन मन्त्रालयले विधेयक बनाई समितिमा पेश गरेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।