गोंगबु बसपार्क प्रकरण-६ : मास्टर प्लानका नाममा बनाइयो अनधिकृत ‘नमुना टोल’ 

हेमन्त जोशी | २०७६ भदौ ३ मंगलबार | Tuesday, August 20, 2019 २०:३०:०० मा प्रकाशित

काठमाडौं- काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क छिर्ने बाटोको बायाँपट्टि कान्तिपुर मल छ। दायाँपट्टि साततले नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कान्तिपुर मलबाट पूर्वपट्टि बनाइएका टहरा र भवनहरू छिचोलेर अघि बढ्दै जाँदा म्हैपीतर्फ जाने एउटा कालोपत्रे गरिएको सडक भेटिन्छ। पश्चिममा विष्णुमती नदीदेखि सो पक्की बाटोको सीमानासम्मको पूरै जग्गा गोंगबु बसपार्कको सार्वजनिक जग्गा हो।

काठमाडौं महानगरपालिकाका अनुसार गोंगबु बसपार्क पूर्वमा चक्रपथदेखि म्हैपी जाने पिच बाटोसम्म, पश्चिममा विष्णुमती नदीसम्मको जग्गा नयाँ बसपार्कको स्वामित्वको जग्गा हो। यसैगरी, उत्तरमा चक्रपथ र दक्षिणमा विष्णुमती नदीबाट पूर्वी पिच सडक जोड्ने सडकसँगै जोड्ने कम्पाउन्ड वालको ४ किल्लाभित्र अटाएको छ। 

महानगरपालिकाले किटान गरे अनुसार जग्गा खोज्दै जाने हो भने आधा क्षेत्रफलमा मात्रै अहिले बसपार्क भएको भेटिन्छ। बाँकी ठाउँमा यति धेरै संरचना बनाइएका छन् कि, सामान्य मानिसले बसपार्ककै जग्गा होला भनेर कल्पनासमेत गर्न सक्दैन। बसपार्ककै जग्गामा बसपार्क भेटिँदैन, खुला क्षेत्र पनि छैन। बरु अस्तव्यस्त एउटा ‘नमूना टोल’ भेटिन्छ। 

गोंगबु बसपार्कमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको क्षेत्र बसपार्कको उत्तरपूर्वी र उत्तरी भाग हो। नक्साअनुसार हेर्ने हो भने त्यो ठाउँमा एउटा टोल (बस्ती) नै बसालिएको छ। ‘नमूना टोल’ नाम दिइएको उक्त टोल बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएको हो। त्यहाँ केही संरचना वैध र केही अवैध तरिकाले बनाइएका छन्।

काठमाडौं महानगरपालिका र गोंगबु बसपार्क संचालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीयबीच भएको सम्झौताले त्यस्ता कुनै पनि ‘नमूना टोल'लाई चिन्दैन। अर्थात् यसरी टोलै खडा गर्नु महानगर र ल्होत्सेबीच भएको सम्झौता विपरीत हो। त्यहाँ डेढ दर्जनभन्दा बढी व्यावसायिक भवनहरू बनेका छन्। ती संरचनामा ९ वटा गेस्ट हाउस, २ वटा दोहोरी साँझ र दर्जनौं साना पसल तथा सटरहरू छन्। त्यही ठाउँमा जस्ताले छाएर अनधिकृत रुपमा बनाइएको संरचना पनि थुप्रै छन्।    

बसपार्कको उत्तर पूर्वी भागमा एबिआर कम्प्लेक्स नामको भवन बनेको छ। सोही भवनमा एउटा सहकारी संस्थाको कार्यालय पनि छ। एबिआर कम्प्लेक्स र संगै जोडिएका भवनहरूको महानगरपालिकासँग भएको सम्झौतासँग कुनै तालमेल मिल्दैन। केही अनुमति लिएर र केही अनुमति नलिइकन बनाइएका ती भवनहरूमा संचालन भइरहेका व्यावसायिक क्रियाकलाप पनि महानरपालिका र ल्होत्सेबीच भएको सम्झौताको क्षेत्राधिकारभित्र पर्दैनन्। 

बसपार्कको उत्तरतर्फको भागमा कान्तिपुर मलभन्दा पूर्वपट्टि म्हैपी जाने पिच सडकसम्म निर्माण गरिएका टहरा पनि अवैधानिक हुन्। कान्तिपुर मलकै छेउमा डिभी मार्केट नाम दिएइको टहरा बजार खोलिएको छ। दुप्चेश्वरी बचत तथा ऋण सहकारी संस्था र तनहुँ पोखरा गेस्ट हाउस भएको भवनको पश्चिम र कान्तिपुर मलको पूर्वपट्टिको ठूलो क्षेत्रफल टहराले ओगटेको छ। दुप्चेश्वरी बचत तथा ऋण सहकारी संस्था रहेको भवनको पूर्वपट्टि ‘शान्ति मिनी मार्केट’ भनेर थप टहरा बनाइएका छन्। टहराको पूर्वपट्टि हल्का निलो रंगको भवन छ। त्यो भवन गोंगबु बसपार्कको उत्तरपूर्वी सिमानाको अन्तिम बिन्दु हो। यी सबै संरचना नयाँ बसपार्ककै जग्गामा बनेका हुन्। 

बसपार्कको पूर्वी भागमा सडकपट्टी फर्काइएर बनाइएका तीन वटा लाम्चो आकारका भवन छन्। 'रो सप ए', 'रो सप बी' र 'रो सप सी' नाम दिइएका यी संरचना बसपार्कको पूर्वी भागमा कम्पाउन्ड वालको काम गर्ने गरी बनाइएका छन्। यद्यपि, सडकतिर सटर राखिएका छन्। दक्षिण पूर्वी भागमा नेपाल टेलिकमको कार्यालय रहेको छ। उक्त कार्यालयले चर्चेको जग्गामा पनि नेपाल सरकार र महानगरबीच स्वामित्व विवाद छ।

बसपार्कभित्र सुरक्षा निकाय बस्ने गरेको भवन २०७२ सालको भूकम्पपछि खण्डहरमा परिणत भएको छ। ग्रान्डी इन्टनेसनल अस्पतालले स्वास्थ्य सेवा दिने भन्दै बनाइएको संरचनाको छेउमा रहेको उक्त भवन चार वर्षदेखि उपयोगविहीन बनेको छ। आधा भत्काइएको यो भवनको उत्तरपट्टि र पूर्वपट्टिका संरचना बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका हुन्। 

यसरी अनधिकृत संरचना निर्माण गर्नु महानगर र ल्होत्सेबीच भएको सम्झौता विपरीत हो। ‘बसपार्कभित्रका भौतिक पूर्वाधार खण्डित गर्ने, अवाञ्छित रूपमा परिवर्तन गर्ने तथा त्यसको प्राकृतिक पर्यावरणलाई दखल गर्ने कार्य नगर्ने तथा तत्कालीन श्री ५ को सरकार र जापान सरकारबीच भएको सम्झौतालाई नकारात्मक असर गर्ने गरी काम गर्न पाइने छैन,’ भनी मूल सम्झौतामा उल्लेख छ। 

ल्होत्से बहुउद्देश्यीय प्रालिले काठमाडौं महानगरसँग गरेको सम्झौतामा यात्रुलाई सुविधा दिन विभिन्न संरचना बनाउने भन्ने उल्लेख छ। त्यस्ता संरचना बनाउन काठमाडौं महानगरले पनि स्वीकृति दिएको थियो। तर, ल्होत्सेले २०५६ सालमा भएको सम्झौता अनुसारको अवधारणागत डिजाइन र २०७२ सालमा भएको पूरक सम्झौता अनुसारको दीर्घकालीन रणनीति (मास्टर प्लान) अनुसार संरचना बनाइएको देखिँदैन। केही संरचना सम्झौताअनुसार नै डिजाइन गरिएका भएपनि त्यस्ता संरचनाको प्रयोग भने सम्झौता अनुसार भएको छैन। 

२०७२ साउन २५ गते महानगर र ल्होत्सेबीच पूरक सम्झौता भएसँगै बसपार्कभित्र थप संरचना बनाउने गरी मास्टर प्लान अनुसार जाने विषयमा पनि सम्झौता भएको थियो। मास्टर प्लानले बसपार्कभित्र बाल उद्यान, हरित उद्यान, फास्टफुड, बैंक तथा वित्तीय संस्था, बास बस्ने यात्रुका लागि बसपार्कभित्रै आवासीय भवन निर्माण वृद्धवृद्धाका लागि आराम गर्न मिल्ने खालका आराम कक्षलगायत संरचना मात्र बनाउने उल्लेख गरेको छ। 

मास्टर प्लानअनुसार निःशुल्क हेल्थ चेकअपका लागि क्लिनिक संचालन गर्ने भनिएकोमा ल्होत्सेका अध्यक्ष दीपक कुँवरले नै संचालन गरिरहेको ग्रान्डी इन्टरनेसनल अस्पतालले ‘हेल्थ चेकअप स्टेसन’ खालेको छ। यद्यपि, यहाँ निःशुल्क सेवा भने पाइदैन।

बसपार्कमा राती उत्रेका यात्रुका लागि ल्होत्से आफैंले दुईवटा तीन तले र एउटा चारतले होटल बनाउने भन्दै मास्टर प्लानमा राखेपनि ल्होत्सले त्यस्ता भवन अब नबनाउने भन्दै आएको छ। बालमैत्री, अपांगमैत्री बनाउने भनिएको भएपनि बसपार्कको भिडभाड र कोलाहल भने कम हुन सकेको छैन।

गोंगबु बसपार्क प्रकरण सम्बन्धी यसअघिका समाचार

थप समाचार