काठमाडौं – पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत समूह ‘बी’ को खेलमा अफगानिस्तानले बंगलादेशलाई ३-२ को सेटमा हराएको छ।
रोमाञ्चक बनेर अन्तिम सेटसम्म पुगेको खेलमा पहिलो सेट अफगानिस्तानले २५-२१ ले जितेको थियो। दोस्रो सेट बंगलादेशले २५-१९ ले जित्दै खेलमा फर्कियो।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको खेलमा तेस्रो सेट पनि बंगलादेशले २५-१८ ले जितेको थियो। तर चौथो सेट अफगानिस्तानले २५-२२ ले जितेसँगै खेल अन्तिम सेटमा पुग्यो। जसमा अफगानिस्तान १५-१२ ले विजयी भयो।
जितसँगै अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । यसअघि बंगलादेश उज्वेकिस्तानसँग र अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएका थिए।
मंगलबार नै समूह ‘बी’ मा पहिलो खेलमा जितेका तुर्केमिनिस्तान र उज्वेकिस्तानबीच र नेपाल रहेको समूह ‘ए’ बाट कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ। माल्दिभ्स र कीर्गिस्तानको खेलको नतिजाले नेपाललाई समेत प्रभाव हुँदा नेपाली समर्थकका लागि यो खेल महत्वपूर्ण रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।