जनकपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ सरकारको विषयमा दिएको अभिव्यक्ति २४ घन्टा नबित्दै नबित्दै उल्ट्याएका छन्। सोमबार सहिद रामवृक्ष यादवको स्मृतिसभालाई धनुषाको बरमझियामा सम्बोधन गर्दै उनले प्रदेश २ मा झनै भ्रष्टाचार बढेको बताएका थिए।
तर आज बिहान विपद् व्यवस्थापन समिति धनुषाले जनकपुरमा आयोजना गरेको कार्यक्रममा उनले जनताको अवस्था र देशको विषयमा बोल्दै गर्दा मुलुकभित्र सबैजसो स्थानमा समस्याहरु देखापरेको र प्रदेश २ मा पनि जनता खुसी छन् वा छैनन् भनेर मात्र बुझ्न खोजेको स्पष्ट पारे।
उनले भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीसँग कुरा गरेको बताउँदै प्रचण्डले यसको निम्ति प्रदेश नं २ सरकार, सम्पूर्ण राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। उनले दैवी प्रकोप उद्धार समितिको कार्यक्रममा यो बेला अप्रासंगिक हुन आफू नचाहेको भन्दै जनताको पक्षमा काम गर्न सबैलाई आग्रह गरे।
अध्यक्ष प्रचण्डले प्रदेश २ का ८ वटै जिल्लाको बाढीबाट प्रभावित व्यक्ति र स्थानको बारेमा विस्तृत अध्ययन गरेर पूर्व तयार गर्न सुझाव दिए।
उनले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि पनि भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्दै उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।