काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौ २३ देखि पुनः राष्ट्रिय स्वाभिमान यात्रा गर्ने निर्णय गरेको छ। भदौ २५ गतेसम्म सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला हुने यात्राको तयार समेत पूरा भएको राप्रपाले जानकारी दिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गको उपस्थितिमा राष्ट्रिय स्वाभिमान यात्रा मुल आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकमा यात्राको तयारीका लागि सर्वेक्षणमा गएको प्रदेश ३ का प्रमुख विक्रमबहादुर थापा नेतृत्वको टोलीका बीच तयारीबारे छलफल भएको थियो।
उक्त बैठकमा सर्वेक्षण टोलीका सदस्य एवं पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले उक्त जिल्लाहरुमा स्वाभिमान यात्राको तयारी सन्तोषजनक रहेको जानकारी दिँदै पाँचवटै जिल्लाहरुमा विभिन्न तयारी सम्बन्धि उपसमिति गठन गरिएको छ। सर्वेक्षण टोलीमा पार्टीका केन्द्रीय सदस्यहरु विजय खडका, लालध्वज लामा, उज्ज्वल विक्रम थापा, दिनेश कार्की, सरश्वती श्रेष्ठ, प्रदेश ३ का सांसद रिता माझी लगायतको सहभागिता रहेको थियो।
राप्रपाले राष्ट्रिय स्वाभिमान यात्राको तेश्रो चरण अन्तर्गतको तीन दिने यात्रा भदौ २३ गते बिहान सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट सुरु भएर काभ्रे जिल्लाको बनेपामा २५ गते साँझ समापन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।