काठमाडौं - ला लिगामा नयाँ सिजनका लागि खेलाडी किनबेचको समय झण्डै दुई हप्ता बाँकी छ। यसैले गएको सिजनको लिग विजेता बार्सिलोना जतिसक्दो छिटो नेमारसँगको सम्झौता पक्का गर्ने दौडधुपमा लागेको छ।
बार्सिलोनाले नेमारका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक रुपमा राखेको यसअघिका प्रस्ताव अस्वीकृत भइरहँदा नयाँ प्रस्तावका लागि बार्सिलोना अघि बढेको हो ।
ब्राजिलियन स्टार खेलाडी नेमारको नयाँ सिजन के हुने भन्ने अन्योल रहेका बेला बार्सिलोना फरक रुपमा अघि बढ्न लागेको हो।
नेमार ल्याउन पिएसजीसँगको सम्झौताका लागि नै बार्सिलोनाका फुटबल निर्देशक इरिक अबिडाल फ्रान्समा छन्। बार्सिलोनामा नेमारले भित्र्याउने मागमा स्टार खेलाडी लियोनल मेस्सी नै संलग्न रहेकोले उनलाई जसरी पनि ल्याउने प्रयासमा बार्सिलोना लागेको खबरहरु आइरहेका छन्। त्यसका लागि एक सिजनका लागि लोनमा मात्रै ल्याउन सकिने पछिल्लो प्रयासमा बार्सिलोना लागेको छ।
नेमार पीएसजीमा नयाँ सिजन निरन्तर नगर्ने योजनामा लागिरहेका छन्। उनको रोजाइँ पनि बार्सिलोनामा नै केन्द्रित छ। पीएसजी पनि उनलाई क्लब छाड्न दिन तयार छ, तर सम्झौता अघि बढ्न भने सकेको छैन।
२०१७ मा बार्सिलोना छाडेर २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा पीएसजी पुगेका नेमार पुनः बार्सिलोना फर्कने प्रयासमा ठूलो रकम नै बाधक बनिरहेको हो।
अहिले पीएसजी समय बिताउने शैलीमा देखिएको छ। छाड्न चाहने खेलाडीलाई बाटो खुला रहेको बताउँदै आएको पीएसजीले समय सकिएपछि नेमार क्लबकै रहने र प्रोफेसनल रुपमा अघि बढ्ने आशामा छ।
पिएसजी प्रशिक्षक थोमस टचेलले भने नेमारबिना पनि क्लब कसरी अगाडि बढ्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्। नेमारको विकल्प थाहा नभई उनलाई क्लबले छाड्न नहुने उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।