काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिले नेपाल क्रिकेट संघ (क्यान) माथि लाग्दै आएको निलम्बन फुकुवा आश्वासन दिएका छन्। क्यानको विवादको विषयमा छलफल गर्न काठमाडौं आएका आइसिसीका उपाध्यक्ष इमारान ख्वाजासहितको टिमले क्यानको विधान आफुले भने जस्तो भए निलम्बन फुकुवा गर्ने आश्वासन दिएका हुन्।
आइसिसीका प्रतिनिधिले निर्वाचित क्यानले गत साउनमा संशोधन गरेका बुँदा मध्ये १७ सदस्यीय कार्यसमितिका सदस्यले आगामी साधारण सभामा भाग लिन पाउने व्यवस्था हटाउन भनेका छन् । यी बाहेक अन्य संशोधनमा आइसिसी सहमत भएको निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए। प्याकुरेलले विवाद समाधानका लागि बाधक नबन्ने पनि बताए। 'आइसिसका उपाध्यक्षले १७ सदस्यीय कार्यसमितिले भाग लिन पाउने व्यवस्था हटाए निलम्बन फुकुवा गर्ने आश्वासन दिनु भएको छ। निलम्बन फुकुवा हुने अवस्थामा हामी त्याग गर्न तयार छौं,' प्याकुरेलले नेपाल लाइभसँग भने।
ख्वाजाले सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टसँग भेट गरेका थिए। विष्टले पनि नेपालको निलम्बन फुकुवा गर्नका लागि अन्तरिक विवाद मिलाउने बचन दिएको विष्टका प्रेस सल्लाहकार रोहित दाहालले बताए। यसअघि भएका जिल्ला निर्वाचनलाई मान्यता दिन पनि विष्टले आइसिसीका प्रतिनिधिसँग आग्रह गरेका थिए।
आइसिसीका प्रतिनिधिहरु छलफल सकिए लगत्तै सोमबार साँझ फर्किएका छन्। अब निर्वाचित क्यानले अधिवक्तासँग छलफल गरेर प्राविधिक कुरा मिलाउने महासचिव प्याकुरेलले बताए। आइसिसीले पनि केही दिनमै आधिकारिक धारणा सार्वजनिक गर्ने सल्लाहकार दाहालले बताए।
अब गर्ने निर्वाचनका लागि मोनिटरिङ समिति बनाउने पनि सहमति भएको छ। जहाँ ३ जना आइसिसीका सदस्य हुनेछन् भने निर्वाचित क्यन र परिषद्का १–१ जना सदस्य रहनेछन्।
यसअघि साउनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गठन गरेको सल्लाहकार समितिले बनाएको विधान क्यानको विशेष साधारण सभाले संशोधनसहित पारित गरेको थियो। खेलकुद परिषदले क्यानको संशोधित विधानलाई स्विकृति प्रदान समेत प्रदान गरेको थियो।
संसोधित विधानअनुसार ८ कात्तिकभित्र जिल्ला क्रिकेट संघको निर्वाचन भएको थियो। तर ८ मंसिरसम्म गर्नु पर्ने प्रदेश संघ निर्वाचन भने नगर्न आइसिसीले क्यानलाई पत्राचार गरेको थियो।
अन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले विवाद समाधानका लागि सल्लाहकार समूह गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।