काठमाडौं- आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ए टिम १० स्वर्णसहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
विजेश्वरीले १ रजत र १ काश्य पदक पनि प्राप्त गर्यो। त्यस्तै, २ स्वर्ण र १ काश्य पदक प्राप्त गरी आदर्श योगहरि मावि लैनचौर दोस्रो र १ स्वर्ण, १ रजत र ३ काश्य प्राप्त गरी कौशल इंग्लिस बोर्डिङ स्कुल तेस्रो स्थानमा रहन सफल भयो।
स्वयम्भुस्थित महाविद्यालय हातामा ३ दिनसम्म भएको प्रतियोगितामा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा योगमाया श्रेष्ठ सिनियरतर्फको उत्कृष्ट खेलाडी र अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरकी सुरिता जैसी जुनियरतर्फको उत्कृट खेलाडी घोषित भए। प्रतियोगिता अन्तर्गत फाइटिङतर्फ विजेश्वरीलाई २० केजी मुनिमा दक्षिणा भुजेल, २४ केजी मुनि विनिशा राई, २७ केजी मुनि करूणा श्रेष्ठ, ३० केजी मुनि सीमा थापा मगर, ४० केजी मुनि सरिष्मा शाह, ४२ केजी मुनि सदीक्षा कार्की, ४४ केजी मुनि सरिता रूवाली, ४६ केजी मुनि योगमाया श्रेष्ठ, ४९ केजी मुनि सीमा श्रेष्ठ, ५७ केजी मुनि आकृति कुँवरले स्वर्ण दिलाए।
३३ केजी मुनि आदर्श योगहरि मावि लैनचौरकी सुविना खड्गी, ३६ केजी मुनि कौशल ई. बोर्डिङ स्कुल मनमैजुकी सुमिष्ता तामाङ, ५३ केजी मुनिमा आदर्श योगहरि मावि लैनचौरकी शुष्मा गुरूङले स्वर्ण जिते।
त्यस्तै, पुम्सेतर्फ सिङ्गल पुम्सेमा माइती नेपाल, गौशालाकी प्राश्ना खड्काले स्वर्ण हात पारिन्। आदर्श योगहरि मावि लैनचौरकी समन्ना खड्गीले रजत र विजेश्वरीकी रिता श्रेष्ठ र सैनिक आवासीय महाविद्यालय भक्तपुरकी गोभिना थापा मगरले कास्य पदक हात पारे।
ग्रुप पुम्सेमा विजेश्वरीका रोषनी श्रेष्ठ, सरिता गुरूङ र हेमकला मगरले स्वर्ण हात पारे। विजयी खेलाडी र टीमलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार वितरण गरेका थिए। उपत्यका भित्र र बाहिरका गरी १९ वटा विद्यालयका १ सय ५० जना छात्राले प्रतियोगितामा सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।