वासिङ्टन- एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० वर्ष पहिले रूसी डुङ्गा चालकले लेखेको पत्र भेटिएको छ।
रूसी भाषमा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि बोतलसहित पत्र भेटेका अलास्काका टाइलर आइभनोफले पत्रलाई अनुवाद गरिदिन भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। पत्र रुसी पानीजहाजमा चालकदलको सदस्य रहेका रुसी समुद्री सैनिकले लेखेको थाहा भएको छ।
आफूले रक्सीको बोतलमा कागजको टुक्राजस्तो वस्तु देखेपछि बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको आइभनोफले बताए।
५० वर्ष पहिले रूसी भाषामा लेखिएको पत्रमा अज्ञात व्यक्तिलाई सङ्केत गर्दै ‘यात्रा सुखमय रहोस्’ लेखेर समुद्रमा छाडिएको विश्वास गरिएको छ। अचम्मको कुरा के छ भने उक्त पत्र लेख्ने रूसी नागरिक अहिले ८६ वर्ष पुगेका र जीवितै रहेको पाइएको छ।
'हार्दिक नमस्कार! रूसी ‘फार इस्ट फ्लिट भिआरएक्सएफ सुलाक’बाट,' पत्रमा लेखिएको छ, 'हामी तपाईंको राम्रो स्वास्थ्य र लामो आयुको कामना गर्दर्छौँ। २० जुन १९६९।'
पत्र सामाजिक सञ्जालमा पोस्ट भएपछि रुसी पत्रिका 'नोम नजेट'ले यससम्बन्धी समाचार छापेको थियो। पत्रसम्बन्धी समाचार रूसमा भाइरल बनेपछि रुसी टेलीभिजन 'रोसिया-१' का पत्रकारले पूर्व सोभियत सैनिक पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको क्रिमियास्थित घरमा पुगेर पत्रबारे सोध्दा आफूले उक्त पत्र लेखेको उनले पुष्टि गरेका थिए।
अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा उनले आँसु झारेका थिए। उनले रुसी टेलिभिजन 'रोसिया-१'सँग भने, 'हो, यो मेरो लेखाइ हो।' पत्र कुनै अमुक व्यक्तिलाई लेखिएको नभै अपरिचित अर्थात् जसले प्राप्त गर्छ उसका लागि गरिएको सम्बोधन भएको उनले स्पष्ट पारे। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।