कैलाली- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाम गठबन्धनको सरकार बनेपछि मुलुक विकासको पथमा लम्कने बताएका छन्।
कैलालीको पुरानो सदरमुकाम भजनीमा सोमबार महोत्सवको उद्घाटन गर्दै दाहालले विकासकै लागि नेपालमा वाम एकता हुन लागेको बताए।
‘जनताले विकास चाहेका छन्, हामीले विकास गर्छौ भनेर नै चुनावमा भोट मागेका हौं, अब वाम गठबन्धनको सरकारले जनताको चाहना पूरा गर्छ’, दाहालले भने।
दाहालले सरकार निर्माण र पार्टी एकीकरणको काम सँगसँगै अगाडि बढिरहेको बताए।
‘एमाले र माओवादीको एकीकरण छिटै गर्नेगरी आवश्यक तयारीहरु भइरहेका छन्', उनले भने, 'वामपन्थी सरकार बन्न पनि धेरै समय लाग्दैन, मुलुकको विकास गर्न सक्ने सरकार अब बन्नेवाला छ।'
आयोजक भजनी उद्योग वाणिज्य संघले प्रचण्डलाई मोहना नदीको गुलरियाघाटमा पुल निर्माण हुनुपर्ने, बाढी पीडितका समस्या समाधान हुनुपर्ने लगायतका १५ बुँदे मागपत्र बुझाएको छ।
मागपत्र बुझ्दै दाहालले उक्त माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।