बङ्गलादेश- बङ्गलादेशमा शरणार्थीका रूपमा रहेका झण्डै ३ हजार ५ सय रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ।
सरकारी उच्च अधिकारीले सोमबार दिएको जानकारीअनुसार उनीहरुलाई घर फर्काउने प्रक्रिया यसै हप्ता सुरु हुनेछ। सैनिकको ज्यादतीबाट आजित भएर झण्डै दुई वर्षअगाडि उनीहरू भागेर बङ्गलादेश आएका थिए।
सन् २०१७ को अगस्टतिर झण्डै ७ लाख ४० हजार रोहिङ्ग्या शरणार्थीहरू विस्थापित भएर बङ्गलादेश आएका थिए।
उनीहरुलाई स्वदेश फर्काउनका लागि फिर्ती सम्झौतामा हस्ताक्षर गराउने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन्।
बङ्गलादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले आउँदो बिहीबार थप शरणार्थीहरुलाई म्यानमार फर्काउने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे।
यसअघि सन् २०१८ को नोभेम्बरमा २ हजार २ सय ६० शरणार्थीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेकोमा सुरक्षाको सुनिश्चितता नभएकाले फर्किन नसकिने भन्दै शरणार्थीहरुले घर फर्किन अस्वीकार गरेका थिए।
'अन्य सवै कुरा तयारी अवस्थामा छन्, गन्तव्यस्थान मात्रै निश्चित गर्न बाँकी छ,' म्यानमारका अधिकारीहरुसँगको बैठकपछि कलामले पत्रकारहरुसँग भने। उनले कसैलाई पनि जबरजस्ती फर्किनका लागि दबाब नदिएको पनि स्पष्ट पारे।
दुवै देशका अधिकारीहरुले स्वदेश फर्काउन तयार पारिएका ३ हजार ५ सय शरणार्थीमध्ये हरेक दिन तीन सय जनाका दरले रोहिङ्ग्या शरणार्थीहरुलाई म्यानमार फर्काउने योजना बनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।