जनकपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव नेपालले तत्कालीन एमालेको विधान अनुसार झलनाथ खनाल नै पहिलो वरिष्ठ नेता भएको स्पष्ट पारेका छन्।
धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन जाने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताको बेला धेरै गल्ती भएको बताएका छन्।
'एकताका बेला अरु पनि गल्ती भएका छन्। त्यो भनेको वरिष्ठ व्यक्ति सचिवालयमा परेनन्। कनिष्ठ नेता परेका छन्। समान रहेका वरिष्ठ नेताहरु, उपमहासचिव समेत रहेका एउटा परे, अर्को परेनन्। सबैलाई सच्याउनुपर्ने हुन्छ', उनले भने।
उनले एकताको बेलामा वरियताको विषयमा पार्टी अध्यक्षबाट गल्ती भएको बताए।
'पूर्व एमालेको विधानअनुसार झलनाथ खनाल नै पहिलो वरिष्ठ नेता हो। उहाँले पाउनुपर्थ्यो। त्यतिखेर विभिन्न कारणले गर्दा यो भयो। म धेरै कारणको व्याख्या गर्न चाहन्नँ', उनले भने, 'त्यसपछि उहाँलाई पहिलो चरणमा अपमानित गरियो। दोस्रो चरणमा मलाई पनि अपमानित गर्ने कोसिस गरिएको छ।'
आइतबार बसेको सचिवालय बैठकले माधव नेपालको वरियता खोस्दै उनको ठाउँमा खनाललाई ल्याउने निर्णय गरेको थियो। नेता नेपालले पूर्व एमालेको विधान अनुसार अघि बढ्ने हो भने सोही पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य तथा भीम रावललाई पनि उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। तत्कालीन एमालेका एकजना उपाध्यक्ष वामदेव गौतमलाई पनि उपाध्यक्ष बनाउने सचिवालयले निर्णय गरेपछि नेता नेपालले पछिल्लो प्रस्ताव गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।