काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपालले पराजय व्यहोरेको छ। बलियो प्रतिस्पर्धी मानिएको कीर्गिस्तानसँग सोमबार दिउँसो ४ बजे भएको खेलमा नेपालले पराजय व्यहोरेको हो।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लखनखेलमा भएको खेलमा २३-२५,२२-२५ र २२-२५ को सेटमा नेपाल पराजित भएको हो।
खेल हेर्न दर्शकका लागि टिकटको व्यवस्था नभएको भए पनि सीमित सिटका कारण पहिले पुग्ने दर्शकलाई मात्र खेल देखाउन सकिने नेपाल भलिबल संघले जनाएको थियो।
नेपाल र कीर्गिस्तानसहित माल्दिभ्स समूह ‘ए’ का टिम हुन्। अब कीर्गिस्तान अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। समूह ‘बी’ मा तुर्कमेनिस्तान र अफगानिस्तानसहित उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्। तुर्कमेनिस्तान चौथो एभिसी एसियन सेन्ट्रल जोन भलिबलको विजेता टिम पनि हो। त्यसअघिको संस्करणमा भने तुर्कमेनिस्तानलाई ३-१ को सेटमा हराएर कीर्गिस्तानले नै उपाधि जितेको थियो।
प्रतियोगिताअघि अफगानिस्तानको टिमसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुवै खेल जितेको थियो। योसँगै घरेलु कोर्टमा दर्शकको साथले पनि नेपाली खेलाडीलाई सकारात्मक उर्जा मिल्ने छ। तर, कीर्गिस्तानसँगको नेपालको विगत भने सुखद देखिँदैन। पछिल्लो पटकका पाँच खेललाई हेर्ने हो भने नेपाल चार खेलमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।