भैरहवा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाईको वाम सरकार लोकतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको प्रदेश पाँच स्तरीय दुई दिने महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
उनले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए।
'मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ, तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ, सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अघि बढ्न खोजेको छ। मिडिया काउन्सिल विधेयक प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो,' उनले भने।
राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको स्मरण गराउदै ओली सरकार प्रजातन्त्र विरुद्ध अगाडि बढे कांग्रेसले नछोड्ने चेतावनी समेत दिएका छन्। सरकार अधिनायकवाद तर्फ लागिरहेको उल्लेख गर्दै सभापति देउवाले प्रजातन्त्रको विरुद्ध लाग्ने कसैलाई पनि कांग्रेसले नछोड्ने चेतावनी दिएका हुन्।
देउवाले पार्टीमा अन्तर्घात गर्नेलाई कारबाही गरिने बताए। 'पार्टीलाई मर्यादित र अनुशासित ढंगबाट सञ्चालन गर्न निर्वाचनमा अन्तर्घात गर्ने जोसुकैलाई पनि पार्टीले कारवाही गर्छ,' सभापति देउवाले भने।
सोही कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले दुईतिहाई बहुमत दिएर पठाएको वाम सरकारले दुई तिहाईलाई दुरुपयोग गरेको आरोप लगाए। 'सरकारको ढुकुटी कार्यकर्तालाई बाँडिएको छ,' उनले भने।
पार्टीका उपभापति तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्धमा काम गरिरहेको आरोप लगाए। कांग्रेसका अर्का उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेपाली कांग्रेस संगठित हुन आवश्यक रहेकोमा जोड दिएका थिए।
पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले अब कार्यकर्ता माझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।