क्याम्प नेउ (एजेन्सी)– फिलिप काउटिन्होको :स्पेनिस ला लिगाको डेव्यु खेलमा लिओनल मेसीले अन्तिम क्षणमा गरेको गोल नै बार्सिलोनाका लागि जितको मन्त्र रहयो। आइतबार राती स्पेनिस ला लिगाअन्तर्गत लिगको १७ औं स्थानमा रहेको आल्भेसविरूद्ध बार्सिलोना पहिलो हाफमा एक गोलले पछाडि परेको थियो।
म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर जोन गुइडेटीले २३ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा स्तब्ध पारेका थिए।
तर, लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो हाफपछि पुनः खेलमा फर्कियो। लुइज सुआरेजले ७२ मिनेटमा गोल गर्दै पहिले खेललाई बराबरीमा ल्याए। त्यसपछि मेसीले फ्रिकिकमार्फत ८४ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए। मेसीको यो सिजनको ला लिगामा २० गोल पुरा भएको छ।
१ सय ४२ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोना प्रवेश गरेका काउटिन्होको स्पेनिस ला लिगा यो डेव्यु खेल थियो। उनी ६६ मिनेटसम्म मैदानमा थिए।
बार्सिलोना २१ खेलमा ५७ अंकसहित अग्रस्थानमा छ। उसलाई पछ्याइरहेको एट्लेटिको म्याड्रिड ११ अंकले पछाडि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।