काठमाडौं - फ्रेन्च क्लब पिएसजीका स्टार स्ट्राइकर केलियन एमबाप्पेले नेमारबिना पिएसजी उस्तै नरहने बताएका छन्।
‘हामी राम्ररी अघि बढ्ने प्रयासमा हुन्छौँ नै तर नेमारबिना पिएसजी पिएसजी जस्तै भइरहने छैन। सबै कुरा उनको भविष्यसँग पनि जोडिएको छ, हेरौँ के हुन्छ’ एमबाप्पेले भनेका छन्।
प्रशिक्षक थोमस टचेलले भने नेमारबिना पनि क्लब कसरी अगाडि बढ्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्। नेमारको विकल्प थाहा नभई उनलाई क्लबले छाड्न नहुने पनि उनको भनाई छ।
नयाँ सिजनका लागि नेमार स्पेनिस क्लब बार्सिलोना जाने प्रयासमा लागिरहेका छन्। बार्सिलोनासँगै स्पेनिस क्लब रियल मड्रिड पनि नेमार भित्र्याउने दौडधुपमा लागिरहेको छ।
लिग वानको खेलमा आइतबार राति गएको सिजनको विजेता टिम पिएसजी रेनेससँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएपछि थियो। खेलको ३६ औँ मिनेटमा काभानीको गोलमार्फत अग्रता बनाएको पिएसजीले दुई गोल खान पुगेको हो। रेनेसका लागि नियाङले ४४ औँ मिनेटमा र डेल क्यास्टिलोले ४८ औँ मिनेटमा गोल गरे।
नेमारबिना मैदान उत्रिएको पिएसजीका लागि केलियन एमबाप्पेको एक प्रहार भने पोलमा लागेर फर्किएको थियो। त्यसपछि पनि काभानी र एमबाप्पेले एक-एक महत्वपूर्ण अवसर गुमाएका थिए।
खेलमा ६१ प्रतिशत समय पिएसजीले बलमा नियन्त्रण बनाएको भए पनि गोलका लागि गरिएका प्रहारमा भने रेनेस नै अगाडि रह्यो। पिएसजीले ९ प्रहार गरेको थियो भने रेनेसले ११ प्रहार गरेको थियो।
गएको सिजन लिग जित्दा पिएसजीले पाँच खेल मात्रै हारेको थियो। रेनेस गएको सिजन १० औँ नम्बरमा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।