काठमाडौं - फ्रेन्च लिग वानको खेलमा गएको सिजनको विजेता टिम पिएसजी रेनेससँग अप्रत्यासित रुपमा २-१ ले पराजित भएको छ।
आइतबार राति भएको खेलमा ३६ औँ मिनेटमा काभानीको गोलमार्फत अग्रता बनाएको पिएसजीले दुई गोल खान पुगेको हो। रेनेसका लागि नियाङले ४४ औँ मिनेटमा र डेल क्यास्टिलोले ४८ औँ मिनेटमा गोल गरे।
नेमारबिना मैदान उत्रिएको पिएसजीका लागि केलियन एमबाप्पेको एक प्रहार भने पोलमा लागेर फर्किएको थियो। त्यसपछि पनि काभानी र एमबाप्पेले एक-एक महत्वपूर्ण अवसर गुमाएका थिए।
खेलमा ६१ प्रतिशत समय पिएसजीले बलमा नियन्त्रण बनाएको भए पनि गोलका लागि गरिएका प्रहारमा भने रेनेस नै अगाडि रह्यो। पिएसजीले ९ प्रहार गरेको थियो भने रेनेसले ११ प्रहार गरेको थियो।
गएको सिजन लिग जित्दा पिएसजीले पाँच खेल मात्रै हारेको थियो। रेनेस गएको सिजन १० औँ नम्बरमा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।