काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र बुझाउन सूचित गरेको छ।
आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ।
राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।
यसैबीच आयोगले प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएका राजनीतिक दललाई उक्त निर्वाचनमा खर्चको विवरण निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र पेश गर्ने निर्देशन दिएको छ।
प्रदेशसभा सदस्य निर्वाचनमा दलले प्रतिउम्मेदवार एक लाख ५० हजारका दरले खर्च गर्न सक्ने रकमको सीमा हद तोकेको थियो। निर्वाचनको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।
प्रदेशसभा सदस्यको समानुपातिक तर्फको गत मंसिर १० र २१ गते निर्वाचन भई माघ ३ गते नतिजा सार्वजनिक भइसकेको स्मरण गराउँदै खर्चको विवरण बुझाउन आयोगले सूचना जारी गरेको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।