वेल्स - एकतर्फि खेलमा कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कपको पाचौँ चरणमा प्रवेश गरेको छ। कर्डिफ सिटी स्टेडियममा जम्मा भएका घरेलु दर्शकहरुको ऐतिहासिक उपस्थिती त्यति बेला शान्त बन्यो जब खेलको ८ मिनेटमा म्यान्चेस्टर सिटीका केभिन डे ब्रुएनले फ्रिकिक मार्फत बललाई गोलको दिशा दिए।

पहिलो हाफ सकिनुअघि रहिम स्टर्लिङले हेडमार्फत गोल गर्दै खेललाई २–० स्थितीमा ल्याए। म्यान्चेस्टर सिटीले दोस्रो हाफमा पाएका राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेन। खेलको इन्जुरी समयमा कार्डिफका जोए बेनेट दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए पनि त्यसले खेलमा कुनै असर पारेन।

यसैबिच गएराति नै भएको अर्को खेलमा मिची बात्सुयीको २ गोलको मदतले चेल्सीले न्यु क्यासल युनाइटेडलाई ३–० ले पराजित गरेको छ। यसै महिना लोनमा चेल्सी छोड्न लागेका बात्सुयीले पहिलो हाफको ३१ र ४४ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ७२ मिनेटमा मार्कोस अलोन्सोले फ्रिकिबाट गोल गर्दै टोलिको जित सुनिश्चित गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।