सुर्खेत- प्रदेश नम्बर ६ मा उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ।
जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो। प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ।
'जिल्ला समन्वय समिति नजिकैको खुल्ला मञ्चमा महोत्सवको आयोजना गरिएकाले प्रदेश सभाको बैठक सिँचाइ डिभिजनको सभाहलमा गर्ने निर्णय गरेका हौँ।', प्रदेश प्रमुख दुर्गाकेशर खनालले भने,'सोही अनुसारको तयारी भइरहेको छ।'
प्रदेश सचिव भरत ढुंगानाका अनुसार सिँचाइको हलमा ८० जना अट्ने क्षमता छ। बैठक तयारीको विषयमा जानकारी दिदैँ उनले भने,'हिजैदेखि सभाहलको रंगरोगन र सजावटको काम शुरु गरिएको छ। २० गतेभित्र यहाँको सबै तयारी पूरा गर्छौं।'
यसअघि प्रदेश सभाका लागि शैक्षिक तालीम केन्द्रको अडिटोरियम हल तय गरिएको छ। शैक्षिक तालिम केन्द्रको हल मर्मत भइराखेकाले कम्तीमा तीन महिनाका लागि प्रदेश सभाको बैठक सिँचाइको सभाहलमा बस्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।