बाल्यकालमा उनलाई बुवाको छुट्टीको सबैभन्दा बढी महत्व हुन्थ्यो। प्रहरीका जागिरे उनका बुवा होमबहादुर घर्ती मगर छुट्टीमा घर आउँदा उनी मोटरसाइकलमा गाउँघर घुम्न पाउँथे। स्थानीय स्तरमा हुने फुटबलको मज्जा लिन्थे। अनि बुवाले भविष्यमा फुटबल खेलाडी बन्नुपर्छ भनेर हौस्याउँदा उनी कल्पनाको अर्को संसारमा पुग्थे। उनको बाल मस्तिष्कले सोच्थ्यो– ‘कुनै दिन म पनि फुटबल खेलाडी बन्छु।’
बालापनमै बुवाको हौसलाले फुटबल खेलाडी बन्ने सोच राखेका तिनै विमल घर्ती मगर भारतको चर्चित फुटबल क्लब मोहन बगानमा आकर्षक रकममा आबद्ध भएका छन्। उनलाई मोहन बगानले भारतको प्रतिष्ठित आइ–लिगका लागि अनुबन्ध गरेको छ। उनी २० वर्षपछि मोहन बगानबाट फुटबल खेल्ने नेपाली खेलाडी बन्न लागेका छन्।
कलिलो उमेरमै नेपाली फुटबलमा तहल्का मच्चाइसकेका विमलको यो सफलताले धरासायी अवस्थामा रहेको नेपाली फुटबलमा आशाको केही त्यान्द्रो पलाएको छ।
‘मेरो लक्ष्य चर्चित क्लबबाट व्यावसायिक खेल खेल्ने थियो। जुन अब पूरा भएको छ। भारतबाट जति खेल्छु शतप्रतिशत खेलेर राम्रो छाप छाड्नेछु’, नेपाल लाइभसँग उनले भने।
विमलको फुटबल खेलाडी बन्ने कहानी निकै रोचक छ। उनका बुवाले नवलपरासीको भुताहामा आफ्नै साथीसँग मिलेर गोर्खा ब्वाइज फुटबल क्लब स्थापना गरेका थिए। उनी स्थानीयस्तरमा हुने कुनै पनि प्रतियोगिता हेर्न छुटाउँदैनथे।
उनी सानैदेखि राम्रो फुटबल खेल्थे। गाउँमा उनको खेलको ठूलै प्रशंसा हुन्थ्यो। उनलाई ९ वर्ष अगाडि यू–१२ को छनोटका लागि गाउँले दाजु राजेश बुढाथोकीले काठमाडौं ल्याएका थिए। तर दुर्भाग्य, उनी छनोट हुन सकेनन्।
पुरानो कुरा सम्झँदै उनी भन्छन्, ‘सायद त्यतिबेला मेरो खेल राम्रो थिएन होला।’
यसपछि उनले अझ धेरै मिहिनेत गरे। नभन्दै उनी एक वर्षपछि बुटवलमा भएको एन्फा छनोटमा सफल भए।
सन् २०१२ मा भएको एएफसी यु–१४ फुटबल फेस्टिबलमा ८ गोल गरेपछि उनी नेपाली छनोटकर्ताको आँखामा परे। युथ फेस्टिबलमा उनले श्रीलंका विरूद्ध ह्याट्रिक गोल गरेका थिए। त्यतिबेला नेपाली राष्ट्रिय टिममा प्रभावशाली स्ट्राइकरको अभाव थियो। त्यसैले उनलाई राष्ट्रिय टिमको भविष्यको रुपमा अथ्र्याइयो।
राष्ट्रिय टोलीका स्ट्राइकरहरू फितलो साबित भइरहेको अवस्थामा विमलले १४ वर्षको उमेरमा डेब्यू गर्ने मौका पाए। उनी सन् २०१२ को सेप्टेम्बरमा दशरथ रंगशालामा बंगलादेश विरूद्ध मैत्रीपूर्ण खेलका लागि पहिलो पल्ट मैदानमा उत्रिएका थिए। उनी अहिले पनि राष्ट्रिय टोलीबाट मात्र होइन, दक्षिण एसियामा पनि १४ वर्षको कलिलो उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्नेे कान्छा खेलाडी हुन्।
‘मलाई अझै पनि पत्यार लागेको छैन’, उनले आफ्नो डेब्यूको कहानी सुनाए।
सन् २०१३ मा उनले काठमाडौंमा भएको दुई प्रतियोगितामा यादगार प्रदर्शन गरे। त्यो वर्ष यु–१६ साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याएका विमललाई त्यही प्रतियोगिताले विदेशमा गएर खेल्ने अवसर जुरायो।
त्यो प्रतियोगितामा बंगलादेशका डच प्रशिक्षक रेन कोस्चरले विमलको खेलको मुक्त कण्ठले प्रशंसा गरे। उनले विमल जस्तो प्रतिभालाई युरोपमा प्रशिक्षण दिनुपर्ने सुझाव दिए। अझ, उनले नै नेदरल्यान्ड्सको क्लब एफसी ट्वान्टेमा कुरा समेत गरिदिए।
दुई महिनापछि काठमाडौंमै भएको साफ च्याम्पियसिपमा पनि विमलले तहल्का पिटे। उनले सिनियर टिमबाट पाकिस्तान विरूद्ध इन्जुरी समयमा गोल गर्दैै नेपालको सेमिफाइनल यात्रालाई बलियो बनाए। उनले १५ वर्षको उमेरमै अन्तर्राष्ट्रिय खेलमा गोल गरेका थिए। विमल नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने कान्छा खेलाडी पनि हुन्।
विमलले युरोपका चार वटा क्लबबाट प्रशिक्षण गर्ने मौका पाइसकेका छन्। सन् २०१३ को नोभम्बरमा नेदरल्यान्ड्सको क्लब एफसी ट्वान्टेबाट उनले २ हप्ता ट्रायल दिए। त्यस क्रममा भएका मैत्रीपूर्ण खेलमा उनले ४ गोल गरेका थिए।
एफसी ट्वान्टेपछि उनले बेल्जियमको शीर्ष फुटबल क्लब एन्डरलेच्टको यु–१९ टिमबाट एक वर्ष व्यावसायिक फुटबल खेले।
दुई वर्षअघि विमलको कप्तानीमा नेपालको यु–१९ टिमले यु–१९ साफ च्याम्पिनसिपको उपाधि जितेको थियो।
विमलले बेल्जियमको केआरसी जेन्कबाट दुई महिना ट्रायल दिइसकेका छन्। उनले बेल्जियमकै ब्रुग्गी केभीबाट प्रशिक्षण पनि लिए। युरोपमा करिअर बनाउने सपना बुनेका विमलले तीन वर्ष युरोपका विभिन्न क्लबमा ट्रायल दिइसकेका छन्।
२० वर्षीय विमलले राष्ट्रिय टिमका लागि २३ खेलमा ६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। पछिल्लो समय थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेलिरहेको बेला उनलाई भारतीय क्लबले सम्झौता गरेको हो।
उनी अबको तीन महिना मोहन बगानमा व्यस्त रहनेछन्। तर, युरोपबाट फुटबल खेल्ने उनको धोको भने मरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।