काठमाडौं– पशुपति मन्दिर क्षेत्रलाई गाँजा तथा लागूऔषध निषेधित क्षेत्रका रुपमा कार्यान्वायन अघि बढाएको पशुपति क्षेत्र विकास कोष र प्रहरीले शिवरात्रिको अवसरमा पनि गाँजा बेच्ने र सेवन गर्नेहरुलाई कडा कारबाही गरिने जनाएको छ।
आइतबार पत्रकार सम्मेलन गरी कोषले पवित्र मन्दिर परिसरमा गाँजा लगायत लागूऔषधलाई पूर्णरुपमा निषेध गरिने जनाएको छ। पशुपति गँजडीहरुको अखडा बन्न थालेको भन्दै विशेष कारबाही सुरु गरिएको हो।
‘महाशिवरात्रिको अवसर पारेर हजारौं युवाले गाँजा सेवन सुरु गर्छन्, ’पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले भने, ‘शिवरात्रिमा गाँजा खाने गलत धारणालाई हामी रोक्न चाहन्छौं, युवाहरुलाई गाँजा बेच्ने साधुहरुलाई पनि हामी सचेत गराउनेछौं।’
यो वर्ष फागुन १ गते महाशिवरात्रि छ। यो वर्ष शिवरात्रिलाई गाँजारहित र शान्तरुपमा सम्पन्न गर्न कोषले तयारी सुरु गरिसकेको छ।
२ सय ७९ जना पक्राउ
पछिल्लो ४ महिनामा पशुपति मन्दिर परिसरमा गाँजा बिक्री तथा सेवन गर्ने २ सय ७९ जना पक्राउ परेका छन्। त्यसमध्ये ३६ जनालाई लागूऔषध मुद्दामा कारबाहीमा गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए। ८० जनालाई सार्वजनिक अपराध मुद्दा चलाइएको छ भने १० जना दुर्व्यसनीलाई लागूऔषध पुर्नस्थापन संस्थाहरुमा पठाइएको छ।
त्यस्तै, लागूऔषध सेवन गर्ने ३० जना बालकलाई आफन्तको जिम्मा लगाई छाडिएको र अन्य ९३ जनालाई फेरि लागूऔषध सेवन नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ।
पछिल्लो ४ महिनामा पशुपति क्षेत्रबाट प्रहरीले ३० ग्राम खैरो हेरोइन, ५ किलो चरेस, ९ किलो गाँजा र ९ सय वटा अन्य विभिन्न किमिसका लागूऔषध बरामद गरेको छ।
साधुको जटाबाट समेत गाँजा बरामद भएको र साधुहरुलाई समेत कारबाही सुरु गरिएको सदस्य–सचिव डा ढकालले बताए।
पशुपति क्षेत्र परिसरलाई लागूऔषधरहित पार्ने कोष र प्रहरीको अभियानमा सशस्त्र प्रहरी बल पशुपति मन्दिर बेसक्याप र बज्रघरले पनि सघाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।