राजविराज– दुई कर्मचारीबीच कार्यालय प्रमुख बन्न हानाथाप भएपछि जिल्ला खेलकुद विकास समिति सप्तरीमा तालाबन्दी भएको छ। सप्तरी जिल्ला खेलकुद कर्मचारी संघले कार्यालयमा तालाबन्दी गरेको हो।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति विराटनगरमा कार्यरत प्रशासकीय अधिकृत लक्ष्मण मण्डल कार्यालय प्रमुखको जिम्मेवारीसहित सरुवा भएर सप्तरी आएपछि कर्मचारीहरुबीच खिचातानी सुरु भएको थियो। उनी गत चैतसम्म सप्तरीमै कार्यालय प्रमुख थिए।
मण्डल पुनः सरुवा भएर आएपछि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका प्रशासकीय अधिकृत महेन्द्र यादवले नियम विपरीत गरिएको सरुवा मान्य नहुने बताउँदै आएका थिए। उनको अभिव्यक्तिका कारण हाजिर हुन असहज भएपछि समितिका केही पदाधिकारीसहित मण्डल कार्यालयमा पुगेका थिए। मण्डल हाजिर हुनासाथ त्यसको विरोध गर्दै संघका कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन्। सचिव प्रकाश मल्लको नेतृत्वमा रहेका कर्मचारीले मण्डलको सरुवा नियम विपरीत भएकाले मान्य नहुने बताए।
नियम वितरीतको सरुवा र कार्यालय प्रमुख महेन्द्र यादवलाई समितिका उपाध्यक्ष धिरु वर्मा र सदस्य अशोक यादवले अपमान गरी कार्यालयबाट बाहिर निकालेको विरोधमा तालाबन्दी गरिएको उनको भनाइ छ।
‘कार्यकक्षमा काम गरिरहेका कर्मचारीलाई जबर्जस्ती निकाल्नु र खातापाता खोस्नु हाम्रो नैतिकतामा पर्दैन’, उनले भने, ‘समितिकै पदाधिकारी गलत रुपमा प्रस्तुत भएपछि हामीले त्यसको विरोध गरेका हौं।’
मण्डल सप्तरी सरुवा हुने जानकारी पाए लगत्तै संघले गत माघ ११ गते नै नियम विपरीत सरुवा भए आन्दोलन गर्ने चेतावनीसहितको चिठी बुझाएको थियो।
यादवले भने आफूलाई कार्यालयबाट गलहत्याएर निकालिएको भन्दै आपत्ति जनाए। सहमतिमै हुने कुरालाई जबर्जस्ती गर्नु र समितिकै सदस्य हातपातमा उत्रनु गलत भएको भन्दै आफूलाई न्याय दिलाउन उनले माग गरेका छन्।
खेलकुद विकास समितिका उपाध्यक्ष वर्माले भने कसैलाई हातपात र अपमान नगरिएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।