काठमाडौं- दोस्रो कार्यकालको आरम्भ गरेयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको तेस्रो गन्तव्य बनाउँदै दुई दिने भुटान भ्रमणमा गएका छन्।
मोदी दोस्रो कार्यकालको सपथग्रहण लगत्तै मालदिभ्स र श्रीलंका गएका थिए। ‘छिमेक पहिलो’ नीति अंगिकार गरेका मोदी दुई दिने राजकीय भ्रमणका लागि शनिबार भुटान प्रस्थान गरेका थिए।
भ्रमणको पहिलो दिनमै भारत र भुटानले १० बुँदे समझदारी(एमओयू)मा हस्ताक्षर गरेका छन्। सम्झदारीमा मुख्यगरी अन्तरिक्ष अनुसन्धान, उड्डयन, प्रविधि, उर्जा र शिक्षा विषय समेटिएका छन्।
समझदारीअनुसार भारतपछि अब रुपे-कार्ड भुटानमा पनि चल्ने भएको छ। रुपे-कार्ड विद्युतीय कारोबारका लागि प्रयोग गरिन्छ, जुन भारतका बैंक तथा वित्तीय संस्थामा प्रयोग हुन्छ।
मोदीले शनिबार रुपे-कार्डको उद्घाटन गरेका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विट गरेका छन्, ‘दुई देशको अर्थव्यवस्था र जनतालाई एकसाथ लिनका लागि मोदी र भुटानका प्रधानमन्त्री लोस्ते छिरिङले संयुक्तरुपमा कार्ड उद्घाटन गर्नुभयो। यसले दुई देशका नागरिकलाई सुविधा हुनेछ।’
त्यस्तै समझदारी अनुसार भुटानले एउटा अर्थ स्टेसन बनाउनेछ। यसका अलवा दुई देशबीच बिजुली खरिद सम्झौता पनि भएको छ।
विमान अपहरण तथा दुर्घटना छानबिन, न्यायिक शिक्षा, प्राज्ञिक तथा सांस्कृतिक आदानप्रदान, वैदिक शिक्षा र शोधका क्षेत्रमा समझदारी भएको छ।
मोदी र छिरिङले संयुक्त रुपमा ७२० मेगावटको माङ्गदेचु जलविद्युत पावर प्लान्टको उद्घाटन समेत गरेका छन्। मोदी र भुटानी प्रधानमन्त्रीले ग्राउन्ड अर्थ स्टेसनको पनि उद्घाटन गरेका छन्, जसबाट भुटानको विकट भू-भागमा रहनेलाई सुविधा हुनेछ।
भुटानको छिमेकी हुनु सौभाग्य : मोदी
मोदीले दोस्रो कार्यकालको सुवातमै भुटान जान पाउनु आफ्ना लागि सौभाग्य रहेको बताए। भुटानी प्रधानमन्त्री छिरिङ र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा मोदीले यस्तो उल्लेख गरेका हुन्। ‘भुटान हाम्रो छिमेकी हो, यो हाम्रा लागि सौभाग्य हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘दुवै देश मिलेर अघि बढेका छन्।’
मोदीले संयुक्त विज्ञप्तिमा १ सय ३० करोड भारतीयका मनमा भुटानलाई विशेष स्थान भएको उल्लेख छ।
मोदीको भव्य स्वागत
दुई दिने भ्रमणका लागि थिम्पु पुगेका मोदीको त्यहाँ भव्य स्वागत भएको छ। मोदीलाई स्वागत गर्न भुटानी प्रधानमन्त्री आफैं पारो अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई विमनस्थलमै 'गार्ड अफ अनर' पनि दिइएको थियो।
मोदीको स्वागतमा भुटानका सडकमा स्थानीय फूलमाला लिएर उत्रिएका थिए। पारो विमानस्थलदेखि थिम्पुसम्म पुग्ने सडकमा भारत र भुटानको झण्डा लिएर सडकमा उभिएका सयौं मानिसले मोदीको स्वागत गरेका थिए।
मोदीले भुटानमा रहेका भारतीय समुदायलाई समेत सम्बोधन गरेका थिए।
(तस्बिर/भिडियो : भारतीय विदेश मन्त्रालय)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।