काश्मीरमा आंशिक सञ्चालनमा आएको टेलिफोन सेवा आइतबारबाट पूर्णरुपमा सुचारु हुने

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 ०६:२२:०० मा प्रकाशित

श्रीनगर- भारत प्रशासित काश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ।

काश्मीर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवासहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ।

प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतबार अपरान्हबाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ। अगस्ट ५ मा जम्मू–काश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको भारतको संविधानको धारा ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएकोे थियो।

जम्मू-काश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, 'बिहानैदेखि उपत्यकाका प्रहरी स्टेसन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ। यहाँ विगत केही दिनदेखि अवरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन्।'

सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन्। सो क्षेत्रमा करिब १ सयको संख्यामा टेलिफोन बुथहरु छन्। रासस/एएफपी