राजविराज– पानीको महशुल नबुझाएपछि राजविराजस्थित पब्लिक विन्देश्वरी माविको धारा काटियो। बक्यौता नउठ्ने र रकम थपिँदै जाने भएपछि खानेपानी संस्थान राजविराजले एक महिना अघि विद्यालयको धारा काट्ने निर्णय लिएको थियो। विद्यालयले १ लाख २९ हजार रुपैयाँ संस्थानलाई बुझाउन बाँकी छ।
नेपाल कन्ट्रक्सन संघका नाममा ५८ हजार ५३० रुपैयाँ बक्यौता छ, तर संघ अस्तित्वमै नरहेपछि पैसा बक्यौता उठ्ने सम्भावना छैन। जिल्ला साझा संघले पनि १ लाख ३१ हजार रुपैयाँ महशुल बुझाउन वाँकी छ। संस्थानका लेखा अधिकृत अजय वरियतले संघको धारा काट्ने विषयमा पनि सम्भवतः चाँडै निर्णय लिइने बताए।
वरियतका अनुसार, गत पुस अन्तिमसम्मको रेकर्ड अनुसार खानेपानी संस्थान राजविराजले १ करोड ११ लाख ६० हजार ५ सय रुपैयाँ महसुल उठाउन बाँकी छ। बक्यौता नबुझाउनेमा सरकारी कार्यालय, विद्यालय, नेपाल सरकारका पूर्व सचिवदेखि संघ–संस्था र नाम चलेका व्यक्ति समेत छन्।
संस्थानले सबैभन्दा बढी केअ माविबाट १ लाख २९ हजार, जिविस गेस्ट हाउसबाट ८२ हजार, नेपाल सरकारका पूर्व सचिव विन्देश्वर प्रसाद सिंहबाट १ लाख २६ हजार २ सय, राजविराज नगरपालिकाका पूर्व मेयर गोविन्द सिंहबाट १ लाख २६ हजार ५ सय असुल गर्न बाँकी छ।
यसैगरी, अन्जुमन मिल्लत १ लाख २८ हजार, बाबुलाल अग्रवाल १ लाख २८ हजार ४ सय, गोपाल प्रसाद सिंह १ लाख २६ हजार २ सय, अवधनारायण यादव १ लाख २८, ऋषिकेश प्रधान ८८ हजार ५ सय, जगरनाथ मुण्धडा १ लाख १७ हजार, शंकरप्रसाद सिंह १ लाख २६ हजार, सुगम्वर दास १ लाख २७ हजार ५ सय, सुरेन्द्रप्रसाद दास १ लाख २६ हजार, जनकबहादुर अमात्य १ लाख २८ हजार, प्रमेश कुमार प्रधान १ लाख २८ हजार, ईश्वर श्रेष्ठ १ लाख २६ हजार लगायतसंग पानी महसुल बाँकी रहेको निमित्त कार्यालयको रेकर्डमा उल्लेख छ।
बक्यौता रहेका कतिपय व्यक्तिको मृत्यु भएको, कतिपयले घर बेचेर हिँडेको र कतिपयले अटेर गरेर पैसा नबुझाएको लेखा अधिकृत वरियतको भनाइ छ। कार्यालयबाट खटिएको टोलीलाई बक्यौता माग्दा धम्की दिने जस्ता कार्यका कारण पनि यति ठूलो रकम बक्यौता रहेको कर्मचारीहरु बताउँछन्।
पटक–पटक ताकेदा गर्दा पनि बक्यौता असुल हुन नसकेको कार्यालयले जनाएको छ। बक्यौता असुल हुन नसकेकाले धारा विस्तार, मर्मत सम्भार जस्ता अत्यावश्यक गतिविधिमा ध्यान पुर्याउन नसकिएको कार्यालयले जनाएको छ।
नेपालभरमै सबैभन्दा बढी पानीको महसुल बाँकी रहेको शाखामध्येमा परिचित खानेपानी संस्थान राजविराज अन्तर्गत हाल २ हजार ४ सय ७९ ग्राहक छन्। जिल्ला खानेपानी कार्यालयले २०३२ सालदेखि राजविराज नगरपालिकालाई दिँदै आएको खानेपानी वितरणको सुविधा २०५६ सालदेखि संस्थानलाई हस्तान्तरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।