काठमाडौँ- प्रगतिशील लेखक संघले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार युवाकवि केशव सिलवाललाई दिने भएको छ।
संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो। ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरु’ कवितासंग्रहका स्रष्टा सिलवाल साहित्यिक पत्रकारिता र संस्थामा पनि आबद्ध छन्।
पुरस्कार चयनका लागि उपाध्यक्ष खेम थपलियाको संयोजकत्वमा सचिव प्रकाश सिलवाल र सचिवालय सदस्य आरसी न्यौपाने सदस्य रहेको समितिको सिफारिसलाई बैठकले अनुमोदन गरेको संघका महासचिव आरएम डंगोलले जानकारी दिए। पुरस्कारको राशि रु १० हजार छ ।
संघका पूर्वअध्यक्ष आनन्ददेव भट्टबाट रु एक लाख प्रदान गरी स्थापित अक्षय कोषबाट प्रलेस स्थापना दिवसका दिन हरेक वर्ष असोज ५ गते सो पुरस्कार प्रदान गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।