काठमाडौं– सन्दीप लामिछानेले राष्ट्रिय टोलीको जर्सी लगाउन थालेको दुई वर्ष मात्र भयो। तर, उनको चर्चा र लोकप्रियता नेपाली क्रिकेटमा धेरै अगाडिदेखि भइरहेको छ।
सन्दीपले २०७२ माघमा बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यू गर्दा सनसनी मच्चाएका थिए। त्यतिबेला उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सुपर–८ मा समावेश हुन सफल भएको थियो। हाल टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्ड विरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएपछि सन्दीप स्टार बन्न पुगेका थिए। दायाँ हातले बल घुमाउन पोख्त सन्दीपलाई आयरल्यान्ड विरुद्धको खेलपछि अन्तर्राष्ट्रिय मिडियाले समेत ‘नेपाली– शेन वार्न’ को संज्ञा दिएका थिए।
१७ वर्षीय सन्दीपलाई युवा टिममा जोड्ने काम भने नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका थिए। साढे दुई वर्षअघि चितवनको नारायणगढस्थित क्याम्पाचौर मैदानमा नेट अभ्यास गरिरहेका सन्दीपलाई देखेपछि पुबुदु प्रभावित भएका थिए। पहिलो नजरमै सन्दीपको प्रतिभा थाहा पाएका पुबुदुले सन्दीपलाई यू–१९ टिमको क्याम्पमा बोलाएका थिए।
क्याम्पाचौरमा लुकेको प्रतिभा त्रिवि मैदानमा प्रष्फुटन भएपछि सन्दीप युवा राष्ट्रिय टिममा पर्न समय लागेन। युवा टिममा आबद्ध भएको ६ महिनाभित्रै उनले विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए।
सम्बन्धित समाचार-
सन्दीप लामिछानेले बनाए इतिहास, दिल्ली डेयरडेभिल्समा आबद्ध
युवा विश्वकपकै दौरान अस्ट्रेलियाका धुरन्धर लेगस्पिनर वार्नसँग तुलना गरिएका सन्दीप अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको विशेष सम्बन्ध बनाएर चर्चामा रहे।
नेपालका सबै क्रिकेटरलाई विश्वविजेता कप्तानसँग संगत गर्ने मौका मिल्दैन। तर, क्लार्कसँग गहिरो सम्बन्ध बनाइसकेका सन्दीपले नेपाल लाइभलाई भनेका थिए, ‘यो अर्थमा म आफूलाई भाग्यमानी ठान्छु।’
क्लार्कसँग भेट्नुअघि सन्दीप उनको ठूलो प्रशंसक थिए। क्लार्कका खेल नछुटाई हेर्थे।
‘उनी स्पिरन विरुद्ध राम्रो ब्याटिङ गर्थे’, क्लार्कलाई पछ्याउनुको कारण खुलाउँदै सन्दीप भन्छन्।
बंगलादेशमा भएको युवा विश्वकपपछि सन्दीपका लागि सिनियर टोलीमा मात्र होइन, विदेशी क्लबबाट पनि क्रिकेट खेल्ने प्रस्ताव आउन थाले। जसमध्ये हङकङबाट आएको एउटा प्रस्तावमा सन्दीप बढी नै हौसिए। किनभने त्यो प्रतियोगितामा क्लार्क पनि खेल्दै थिए। सन्दीपको खुसीको सीमा त्यतिबेला झन् बढ्यो, जब उनलाई फेरि खबर आयो- उनी खेल्ने क्लबको कप्तानी क्लार्क स्वयंले गर्दै छन्।
‘मलाई त सपना देखे जस्तो भइरहेको थियो’, उनी भन्छन्। हङकङ टी–२० ब्लिट्ज–२०१६ मा कोलुन कान्टोन्सबाट खेल्न हङकङ पुगेको दिन सन्दीप र क्लार्कको पहिलो भेट भएको थियो। पहिलो भेटमा दुवै आपसमा त्यति खुल्न सकेनन्, सामान्य परिचय मात्र भयो। तर, टिम बैठकमा क्लार्कले सन्दीपबारे थप जानकारी पाए। यसपछि क्लार्कले विस्तारै सन्दीपको विषयमा चासो राख्न थाले।
क्लार्क सन्दीपलाई क्रिकेटको टिप्स दिइरहन्थे।
‘उनी मलाई क्रिकेटमा केन्द्रित हुन सुझाव दिन्थे’, उनले भने। सन्दीपको बलिङबाट प्रभावित क्लार्कले त्यतिबेलै उनलाई अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न प्रस्ताव गरेका थिए।
‘मैले खेल तालिका हेरेर अस्ट्रेलिया आउने जवाफ दिएको थिएँ’, उनी भन्छन्।
नेपाल फर्किए पनि सन्दीप निरन्तर क्लार्कको सम्पर्कमा रहिरहे। यही क्रममा क्लार्कले आफ्नो एकेडेमीमा क्रिकेट सिक्न र ए श्रेणीको क्रिकेट खेल्न उनलाई निम्तो पठाए। सन्दीप खेल्नका लागि अस्ट्रेलिया आउन लागेको कुरा सबैभन्दा पहिले क्लार्कले ट्विटरमार्फत सार्वजनिक गरेका थिए। यसपछि सन्दीप र क्लार्कको सम्बन्धले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो। अस्ट्रेलिया र नेपालको मिडियाले मात्र होइन, भारतीय मिडियाले पनि सन्दीपको विषयमा समाचार प्रकाशित गरेका थिए।
सन्दीप अस्ट्रेलिया पुग्दा विमानस्थलमा उनलाई स्वागत गर्न नेपाली समर्थकभन्दा अगाडि क्लार्क पुगेका थिए।
‘विश्वविजेता टोलीका कप्तान क्लार्क मलाई स्वागत गर्न एयरपोर्टमा उभिएको देखेर म छक्क परेँ। मेरो लागि योभन्दा ठूलो सम्मान अरु केही हुन सक्दैनथ्यो’, सन्दीप त्यो बेलाको खुसी सेयर गर्छन्।
अहिले सन्दीप र क्लार्कबीचको सम्बन्ध झन् गाढा भएको छ।
पहिले सन्दीप क्लार्कको खेल पछ्याउँथे। अहिले भने क्लार्क सन्दीपको हरेक खेल पछ्याउँछन्। सिंगापुरमा ६ महिनाअघि युथ–१९ विश्वकप छनोटमा सन्दीपले मलेसिया विरुद्ध ७ विकेट लिएपछि क्लार्कले सामाजिक सञ्जालमार्फत बधाई दिने क्रममा लेखे- ‘गुड ब्वाई। ह्याप्पी फर हिम।’
आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध भएर नेपाली क्रिकेटमा इतिहास बनाउँदा पनि क्लार्क अत्यधिक खुसी भए। सन्दीप आइपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर हुन्। आइपिएल अक्सन सूचीको एसोसिएट खेलाडीको सूचीमा रहेका सन्दीपलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा किनेको हो।
आइपिएल आबद्ध हुने पहिलो नेपाली खेलाडी भएर इतिहास बनाए लगत्तै क्लार्कले 'ब्रिलियन्ट न्युज' भन्दै सन्दीपलाई बधाई दिएका थिए।
साढे २ वर्षअघि चितवनको क्याम्पाचौरमा रहेका सन्दीप अहिले विश्वका स्टार खेलाडीसँगको सम्बन्धसँगै विश्वकै लोकप्रिय र महँगो क्रिकेट लिग आइपिएलमा आबद्ध भएर व्यावसायिक फड्को मार्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।