काठमाडौं- नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले चीनका कारण कश्मीर विवादमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बोलाइएको दाबी गरेका छन्। बिबिसी हिन्दीमा एक लेख लेख्दै सुदले यस्तो दाबी गरेका हुन्।
लेखमा सुदले चीनले पाकिस्तानलाई रक्षा, परमाणु र मिसाइल क्षेत्रमा मद्दत लिएको उल्लेख गर्दै सुरक्षा परिषद्सम्म उक्त विषय पुग्नुमा पनि चीनकै हात रहेको दाबी गरेका हुन्। 'हामी सबैलाई थाहा छ, चीन र पाकिस्तान पुरानो र घनिष्ट मित्र हुन्। चीनले पाकिस्तानलाई रक्षा, परमाणु र मिसाइल क्षेत्रमा मद्दत गरेको छ। चीनले पाकिस्तानलाई आर्थिक रुपमा समेत मद्दत गर्दै आएको छ,' लेखमा भनिएको छ, 'यसैगरी सम्झिन सकिने कुरा हो कि कश्मीर विवादमा पनि चीनकै कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को गोप्य बैठक बसेको हो।'
यस्तो बैठकको निर्णय बारेमा दुवै देशलाई जानकारी नहुने समेत उनले उल्लेख गरेका छन्। 'बन्द कोठाभित्र हुने यो बैठकको निर्णयका बारेमा दुवै देशले जानकारी पाउने छैनन्। भारत र पाकिस्तानका व्यक्तिहरु सहभागि नहुने यस्तो बैठकको निर्णय छिमेकी र मित्र देशहरुका सहभागिमार्फत थाहा पाउन सकिनेछ,' उनले भनेका छन्।
सुदले पाकिस्तानी विदेशमन्त्रीको चीन भ्रमणका कारण यस्तो बैठक डाकिएको बताएका छन्। 'पाकिस्तानका विदेशमन्त्री महमुद कुरैशी भर्खर मात्र चीनको भ्रमण सकेर आएका कारण यो बैठक भएको देखिन्छ,' सुद लेख्छन्, 'हुन त भारतका विदेशमन्त्री एस जयशंकर पनि एक साता पहिले चीन भ्रमणमा गएका थिए। मेरो मान्यता छ कि भारतीय विदेशमन्त्रीलाई जानकारी हुनुपर्छ कि चीनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा यो विषय किन उठायो।'
चीनले पाकिस्तानलाई आफ्नो पक्षमा राखिरहन पनि यस्तो निर्णय गरेको उनको आँकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।